गुगल तस्विर ।

हेटौंडाः बागमती प्रदेशमा सोमबार विभिन्न घटनामा तीन जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार सिन्धुली, रामेछाप र चितवनमा एक–एक जनाको मृत्यु भएको हो ।

सोमबार बिहान ८ बजेर ३० मिनेटको समयमा सिन्धुलीको मरिण गाउँपालिका–३ मा आगोले जलेर एक बालकको मृत्यु भएको छ । सोही ठाउँका दुधराज मुक्तानको ३ वर्षीय अपाङग छोरा मनिष आगोले जलेर मृत्यु भएको हो । भान्सा घरमा झुलुङ्गेमा राखेर अभिभावक खेतमा गएको अवस्थामा झुलुङेबाट भुँईमा झरेर चुलोमा पर्दा मुक्तानलाई आगोले पोलेको जनाएको छ ।

यस्तै सोमबार साँझ ५ बजेर २५ मिनेटको समयमा रामेछापको खाँडादेवी गाउँपालिका–१ मा एक पुरुषको शव फेला परेको छ । सोही ठाउँस्थित खैरेनी पुल नजिक सुनकोसी नदीको किनारमा पहिचान नखुलेको अन्दाजी ५२ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।

यस्तै, सोमबार राति ८ बजेर १५ मिनेटको समयमा चितवनको भरतपुर महानगरपालिका–१ एक जना मृत अवस्थामा फेला परेको छ । सोही ठाउँस्थित पोखरा बसपार्कको चौतारामा बिहानदेखि मादक पदार्थ सेवन गरी सुतिरहेका भरतपुर–११, भोजाड का ६५ वर्षीय गम बहादुर सिलवाल मृत अवस्थामा भेटिएको हो ।