हेटौंडाः हेटौंडा अस्पतालका चिकित्सकहरुले सामुहिक राजिनामा दिएका छन् । शुक्रबार अस्पतालका आकस्मिक सेवा बाहेक चिकित्सकहरुले काम गर्न नसक्ने भनेर सामुहिक राजिनामा दिएको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रामचन्द्र सापकोटाले जनाकारी दिनुभयो ।
डाक्टरले सामुहिक राजिनामा दिएपनि अस्पतालले स्विकृत गर्न नसक्ने मेसु सापकोले बताउनुभयो । हेटौँडा–१ स्थित सञ्चो हस्पिटलमा बुधबार बिहान विरामीको उपचार गरिरहेका चिकित्सक जनरल फिजिसियन डा. विकास थापा र एनेस्थेसिया डा. प्रशान्त विडारीमाथि सांघातिक आक्रमण भएको थियो । उक्त घटनालाई लिएर डाक्टरहरुले मकवानपुर भरिनै आकस्मिक सेवा बाहेक अन्य सेवा ठप्प पारेका छन् । प्रहरीले घटनामा संलग्न हेटौँडा–१२ की रमा प्रधान र रमिला प्रधान, रोहन प्रधान र वर्षीय अनुप प्रधानलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई प्रहरीले अनुसन्धानको लागि म्याद थप गर्न अदालत लगेको छ ।
सांघातिक आक्रमणमा परेका जनरल फिजिसियन डा. विकास थापाले जिल्ला छाडिसकेका छन् । बिहिबार बिहान डा. थापा परिवारसहित उपचारका लागि भन्दै हेटौँडा अस्पतालबाट रेफर लिएर काठमाडौं जानुभएको हो । घटनाको विषमा अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यता डाक्टरहरुको सामुहिक आन्दोलनले सेवाग्राहिमा समेत असर परेको छ । दैनिक हजारौको संख्यामा हेटौंडा अस्पतालमा उपचारका लागि आउने गरेकोमा बुधबारको घटनापछि आकस्मिक बाहेक अन्य सेवा संचालन नहँुदा बिरामी मारमा परेका छन् ।