जिल्ला खेलकुद विकास समिति जिल्लाको खेलकुदको विकासका लागि अगुवाई गर्ने संस्था हो । जिल्लाको खेलकुद विकास समितिले यो वर्ष वार्षिक योजना बनाउने तयारी गर्दैछ । खेलकुद संघहरुलाई क्रियाशील गराउँदै वार्षिक योजना नै बनाएर खेलकुदका गतिविधि सञ्चालन गर्ने योजनामा रहेको मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्की साथ, सहयोग जुटाउन पनि लागी पर्नुभएको छ । यसै सन्दर्भमा समृद्ध समाज दैनिकका लागि सुमिना चौलागाईले अध्यक्ष वेश खड्कीसँग गर्नुभएको कुराकानीको सम्पादित अंशः
समाजः तपाईले जिल्ला खेलकुदको वार्षिक योजना बनाउँदै हुनुहुन्छ । यसअघि वार्षिक योजना बनाएको जस्तो लाग्दैन । वार्षिक योजना चाहिँ किन बनाउन लाग्नु भएको हो ?
खड्कीः खासगरी वार्षिक योजना बनाउन लागेको कारण चाहिँ खेलकुद विकास समितिले खेलकुदको क्षेत्रमा के गर्दैछ ? कसरी जाँदैछ ? भनेर संघ, संस्थाले थाहा हुँदैन । त्यसैले वार्षिक योजना हामीले बनाउन लागेको हो । जिल्ला खेलकुदले गरेको गतिविधि, जिल्ला संघले गर्नुपर्ने, खेलकुद विकास समितिले गरेका गतिविधिलाई वार्षिक योजना बनाएर जान आवश्यक भएर तयारी गरिरहेका छौं । खेलकुद क्षेत्रको समग्र विकासका लागि योजना बनाएर अगाडि बढ्न लागेका हौं ।
समाजः खेलकुद संघहरुको पुनर्गठन पनि गरिरहनु भएको छ । हालसम्म कतिवटा निस्क्रिय संघलाई पुनर्गठन गर्नुभयो ?
खड्कीः खेलकुद संघको संख्या धेरै छ । सबै सक्रिय छैनन् । कतिपय संघहरु केन्द्रमा महासंघ बनाउन र केन्द्रका पदाधिकारीलाई विदेश जान सजिलो बनाउने काम मात्रै भइरहेको अवस्था पनि छ । खेलकुद संघ आआफ्नो खेलमा सक्रिय भए पनि सबै मिलेर समग्र खेलकुदको विकास गर्नेतर्फ ध्यान पुग्न सकेको छैन । यस्तो सन्दर्भमा सबै संघहरुलाई पुनर्गठन गर्ने, ती संघहरुको संस्थागत विकास गर्ने, पदाधिकारीको क्षमता विकास गर्ने र आपसमा मिलेर सबै खेलको विकास गर्ने उद्देश्यले पुनर्गठन गर्न सुरु गरेको हो । अहिलेसम्म जिल्लामा रहेका १८ वटा संघहरु मध्ये १४ वटा संघको पुनर्गगठन गर्ने कार्य पूरा भइसकेको छ । बाँकी संघहरुको पनि पुनर्गठन गरेर संघका पदाधिकारीको सल्लाह, सुझावमा वार्षिक योजना बनाएर अगाडि बढ्छौं ।
समाजः जिल्लामा खेलकुदका गतिविधि गर्न आवश्यक बजेट व्यवस्थापनको योजना चाँहि के बनाउनुभएको छ ?
खड्कीः सबैभन्दा ठूलो त आर्थिक समस्या हो । जिल्ला खेलकुद समितिको बजेटले समन्वय गर्न मात्रै पुग्छ । स्थानीय तहसँग बजेट छ । हामी स्थानीय तहसँग समन्वय र सहकार्य गरेर खेलकुदका लागि आवश्यक स्रोत जुटाउने प्रयास गर्नेछौं । जिल्ला खेलकुद विकास समितिले स्थानीय सरकारले छुटाएको बजेटलाई नै सदुपयोग गर्छौँ । जिल्ला खेलकुद विकास समितिको कार्यालयले स्रोत जुटाएर खेलकुदका गतिविधि गर्छ ।
समाजः मकवानपुर जिल्लाका लागि सम्भावना भएका खेलहरु के–के छन् ?
खड्कीः मनोरञ्जनका लागि खेलहरु धेरै नै छन् । म आफै बक्सिङ खेलाडी भएको कारणले गर्दा दुःख कष्ठ भोगेको व्यक्ति हुँ । त्यसैले अब आाउने खेलाडीहरुले दुःख कष्ठ भोग्न नपरोस् भन्ने ठानेको छु । खेलाडीलाई प्रशिक्षण मात्रै दिने वातावरण भयो भने पनि खेलाडी उत्पादन हुन्छ । अहिले खेलाडीहरु बक्सिङ, तेक्वान्दो, फुटबल, कराँते, भलिबल, उसु, व्याड्मिन्टन लगायतको खेलाडीहरु निक्लिरहेका छन् । हामीले खेलाडीहरुका लागि के चाहिँ गर्यो भनेपछि खेलाडी बन्छ ? संस्थामा आवद्ध व्यक्तिसँग मन पनि चाहियो । धन, विचार चाहियो । समय पनि दिन सक्नुपर्छ । मकवानपुरमा सबै खेलको सम्भावना छ ।
समाजः जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि ध्यानदिनुपर्ने पक्ष, समस्याहरु के–के छन्, जस्तो लाग्छ ?
खड्कीः मैले विगतमा आर्थिकरुपमा सवल नभए पनि चाह्यो भने सकिन्छ भन्ने सावित गर्ने गरी खेलकुदका क्रियाकलाप गरेको छु । अहिले जिल्ला खेलकुद विकास समितिलाई प्रदेश सरकारले ५ लाखको खेलकुद सामग्री दिएको छ भने उपमहानगरपालिकाले हामीलाई ११ लाख रुपैयाँ दिएको छ । हामी सबै ठाउँमा गएर खेलकुद सामान वितरण गर्छौं । कहीँ, कतै प्रतियागितामा सहभागी हुनुपर्यो भने खर्च जुटाउन माग्न हिँडनुपर्छ । आगामी दिनमा त्यस्तो नहोस् भन्नाका लागि जिल्ला खेलकुद विकास समितिले तयारी गरिरहेको छ । जिल्लाका खेलाडीको जीवन बीमा, स्वास्थ्य उपचार बीमासँगै मासिक तलब पाउने अवस्था निर्माण गर्ने मेरो योजना छ ।