हेटौंडाः हेटौंडा उपमहानगरभित्र रहेका विद्यालयहरुले प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन सुरु गरेका छन् । वर्षे बिदामा बन्द भएका विद्यालयहरु खुलेसँगै साउन महिनामा लिइएको प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन सुरु गरिएको हो ।
हेटौंडा—११, डाङ्डुङ्गेस्थित आनन्दभैरब आधारभूत विद्यालयले शुक्रबार प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन गरेको छ । विद्यालयका प्रधानाध्यापक कृष्ण खनालका अनुसार अभिभावकको उपस्थितिमा विद्यार्थीको नतिजा प्रकाशन गरिएको हो ।
गत साउन ९ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको प्रथम त्रैमासिक परीक्षामा विद्यालयका कक्षा १ देखि ८ सम्मका एक सय ५० जना विद्यार्थीले परीक्षा दिएका थिए । ती विद्यार्थीको नतिजा समग्ररुपमा हेर्दा कमजोर देखिन्छ । निम्नमाध्यमिक तहका विद्यार्थीको नतिजा बढी कमजोर देखिएको छ । प्रधानाध्यापक खनालले भन्नुभयो— ‘तर प्राथमिक तहका विद्यार्थीको नतिजा अलि राम्रो देखिएको छ ।’
कक्षा १ देखि ५ सम्मका विद्यार्थीको नतिजालाई हेर्दा करिब ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीको नतिजालाई हेर्दा करिब ३०—३५ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका छन् । पढ्ने वातावरण तथा पढ्ने बानी नहुँदा नतिजा कमजोर देखिएको उहाँले बताउनुभयो । माथिल्लो कक्षा पुगेपछि समूह–समूह बनाएर अनावश्यक छलफल तथा कुरा गर्न विद्यार्थी व्यस्त हुने र पढाइबारे कम चासो राख्ने गर्दा पढाइ कमजोर हुँदै गइरहेको उहाँको भनाइ छ ।
शैक्षिक सुधारका लागि अभिभावकको उपस्थितिमा नतिजा प्रकाशन गर्न सुरु गरिएको बताइएको छ । अभिभावकहरुले पनि विद्यालयको उक्त प्रयासलाई सहयोग गरिरहेका छन् । घरमा नियमित पढ्ने वातावरण निर्माण गर्न र विद्यालय पठाउने कुरामा अभिभावकहरुले सहयोग गर्ने बताएका छन् । कमजोर विद्यार्थीलाई अभिभावक, शिक्षक र विद्यालयको समन्वयमा अतिरिक्त कक्षा सञ्चालनको तयारी भइरहेको छ ।
अनुशासित विद्यार्थी निर्माणका लागि स्काउट ट्रुप सञ्चालन गर्ने तयारी भइरहेको छ । हेटौंडा उपमहानगरपालिकाको बालमैत्री स्थानीय शासनलाई सहयोग पुग्नेगरी विद्यालयलाई बालमैत्री बनाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । सरसफाईदेखि पर्चा पम्प्लेट निर्माण, वितरण र टाँस गर्ने कार्य गरिरहेको उहाँको भनाइ छ । यसले विद्यार्थीलाई सकारात्क अभ्यास तथा सहयोगी भावना निर्माणका लागि सहयोग पुग्ने उहाँले बताउनुभयो ।
हेटौंडा—४ स्थित भूटनदेवी माध्यमिक विद्यालयले पनि प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन गरेको छ । ईसीडीदेखि कक्षा १० सम्मका विद्यार्थीको प्रथम त्रैमासिक परीक्षाको नतिजा अभिभावकको उपस्थितिमा प्रकाशन गरिएको छ । विद्यालयका सहायक प्रधानाध्यापक भरत पोखरेलले समग्रमा परीक्षाको नतिजा हेर्दा उत्कृष्ट रहेको बताउनुभयो । ‘ए प्लस ल्याउने विद्यार्थीको संख्या राम्रो रहेको छ’, पोखरेलले भन्नुभयो– ‘प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीले ६४ दशमलब ५३ प्रतिशतदेखि १०० प्रतिशतसम्म अंक ल्याई उत्तीर्ण भएका छन् ।’
केजी कक्षाका जोशेस धिमाल र सुशान्तप्रसाद यादवले १०० प्रतिशत अंक ल्याई विद्यालय टप गरेका छन् । भूटनदेवी माध्यमिक विद्यालयका परीक्षा शाखा प्रमुख तथा शिक्षक खडानन्द चौलागाईले १६ सय विद्यार्थीले परीक्षा दिएको बताउनुभयो । जसमा तराईका विद्यार्थीको सबैभन्दा बढी उपस्थिति थियो । सोहीअनुसार सबैभन्दा बढी उत्कृष्ट अंक ल्याउने विद्यार्थी तराईको रहेको उहाँले जानकारी दिनुभयो । अनुत्तीर्ण हुने विद्यार्थीको संख्या करिब ३ प्रतिशत रहेको बताइएको छ ।
हेटौंडा—१, चाईनाक्वाटरस्थित अमर माध्यमिक विद्यालयले अर्को साता परीक्षाको नतिजा प्रकाशनको तयारी गरिरहेको बताएको छ । परीक्षाको नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको र अर्को साता प्रकाशन गरिहाल्ने विद्यालयका प्रधानाध्यापक मालती उप्रेतीले बताउनुभयो । शुक्रबारीय क्रियाकलापअन्तर्गत् विद्यालयले वृक्षरोपण र सरसफाई कार्यक्रम गरेको छ । यस्तै, २९ गते वडा नम्बर १ लाई बालमैत्री वडा घोषणको तयारीअनुरुप शनिबार पनि सचेतना र्याली कार्यक्रम रहेको उहाँको भनाइ छ ।
यस्तै, हेटौंडा—४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा पनि अर्को साता परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी भइरहेको छ । विद्यालयका सहायक प्रधानाध्यापक दीपक अधिकारीका अनुसार परीक्षाको नतिजाको अन्तिम तयारी भइरहेको छ । यस्तै, शुक्रबारीय क्रियाकलापअन्तर्गत् कक्षागतरुपमा समान्य अतिरिक्त क्रियाकलाप भएको उहाँले बताउनुभयो । हेटौंडामा ७३ वटा सामुदायिक र ४८ वटा संस्थागत विद्यालय छन् ।