हेटौँडाः हेटौँडा–४, कर्रास्थित श्रमिक माविका पूर्वविद्यार्थीहरुको श्रमिक क्रियाशील विद्यार्थी समूहले २३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । शुक्रबार विद्यालयले प्रथम त्रैमासिक परीक्षाको नतीजा सार्वजनिक गर्ने क्रममा श्रमिक क्रियाशील विद्यार्थी समूहले शैक्षिक सामग्री सहयोग गरेको हो ।
विद्यार्थी समूहले २३ जना विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरेको छ । वार्षिक शैक्षिक सहयोग शूल्क वापत विद्यार्थी समूहले २३ जना विद्यार्थीको ५० हजार १ सय रुपैयाँ विद्यालयलाई बुझाएको छ । शुक्रबार ३० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री विद्यार्थीलाई हस्तान्तरण गरिएको श्रमिक क्रियाशील विद्यार्थी समूहका सचिव सुशान्त भण्डारीले जानकारी दिनुभयो । शुक्रबार प्रतिविद्यार्थी २ दर्जन कापी, २ दर्जन पेन र एउटा जियोमेट्री बक्स हस्तान्तरण गरिएको छ । आफूले शिक्षा लिएको विद्यालयमा नयाँ पुस्ताका विद्यार्थीलाई सहयोग गरिएको सचिव भण्डारी बताउनुहुन्छ ।