बलात्कारका घटनाको विरोध गर्दै नाटक मञ्चन गरिरहेका युवा । फाइल तस्वीर ।

हेटौँडाः मकवानपुरमा पछिल्लो समय बलात्कार तथा यौन दुव्र्यवहारका बढेको छ । साउन महिनामा मात्रै मकवानपुरमा बलात्कार तथा यौन दुव्र्यवहारका ७ वटा घटना भएको प्रहरीले जनाएको छ । प्रहरीमा दर्ता भएका घटनामा सबैजसो किशोरी पीडित भएको पाइएको छ ।

गत असार २८ गते दिउँसो १२ बजेको समयमा हेटौंडा–४ मा १३ वर्षीया बालिकालाई फकाएर बिवाह गर्छु भनेर पटक–पटक जबरजस्ती गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएको छ । प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यस्तै साउन ८ गते दिउँसो २ बजेको समयमा मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित बागचौरमा ३ वर्षीय नाबालिकामाथि जबरजस्तीकरण भएको छ । १४ वर्षीय किशोरले जबरजस्ती करणी गरेको भनी प्रहरीमा जाहेरी आएपछि आरोपित किशोरलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेकोे छ ।

यस्तै साउन ५ गते राति १० बजे समयमा मकवानपुरगढी गाउँपालिका वडा–७ स्थित दुगेपानीका २६ वर्षीय जित बहादुर मोक्तानले १६ वर्षकी किशोरीलाई विवाह गर्छु भनी प्रलोभन देखाई जबरजस्ती करणी गरेको जनाएको छ । मोक्तानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

साउन २४ गते दिउँसो ३ बजेर ३० मिनेटको समयमा हेटौंडा–८, कमानेमा १४ वर्षीया बालिकाले आफुलाई इच्छाविपरीत जबरजस्तीकरणी भएको भन्दै प्रहरीमा जाहेरी दिएकी छिन् । पीडकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयमा जबरजस्तीकरणका ७ मुद्दा दर्ता भएको छ भने ४ जना आरोपितलाई पक्राउ गरेको छ । ३ जना आरोपी फरार छन् ।

सामाजिक सञ्जालमा चिनजान भएकै आधारमा किशोर–किशोरीबीच यौनसम्बन्ध कायम भएको, किशोर–किशोरीबीच प्रेम सम्बन्धका आधारमा सहबास भएको कुरा किशोरीको परिवारले थाहा पाएपछि सकेसम्म छुटाउन खोज्ने र नछुट्टिए बलात्कार, जबर्जस्ती करणीको मुद्दा दर्ता हुने अवस्था रहेको प्रहरीको भनाइ छ । यौन दुव्र्यवहार, बालयौन शोषणकै अभियोगमा ६२ वर्षीय, ७४ वर्षीय ज्येष्ठ नागरिक पनि जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा छन् । गत आर्थिक वर्ष २०७९/८० मा मकवानपुर जिल्लामा ४५ वटा जबर्जस्ती करणीका घटना, ६ वटा जबर्जस्ती करणीको उद्योग गरेको घटना र ७ वटा बाल यौन दुव्र्यवहारको घटनासम्बन्धी मुद्दा दर्ता भएको छ ।

कानुन व्यवसायी मोहन ढकालका अनुसार १० वर्षभन्दा कम उमेरका बालिकालाई करणी गरेमा १६ देखि २० वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । यस्तै १० वर्षभन्दा माथि १४ वर्षभन्दा कम उमेरको बालिकाको हकमा १४ वर्षदेखि १६ वर्ष कैद सजाय, १४ देखि १६ वर्षका बालिकाको हकमा १२ वर्षदेखि १४ वर्ष कैदको व्यवस्था छ । यस्तै १६ वर्षदेखि १८ वर्षका बालिकाको हकमा १० वर्षदेखि १२ वर्ष कैद र १८ वर्षभन्दा माथिको महिलाको हकमा ७ देखि १० वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ । यो कानुन सबैका हकमा बराबर लाग्ने उहाँले बताउनुभयो । यस्तै पीडितलाई क्षतिपूर्ति पनि दिनुपर्ने व्यवस्था छ । आरोपित दोषी ठहरेमा बालक भए बालसुधार गृहमा राख्ने र १८ वर्षमाथिको भए कारागारमा राख्नेछन् ।

बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले यसरी बलात्कारका घटना बढ्दै जानु दुखद् रहेको बताउनुभयो । अहिले सबै कुरा बुझेर पनि लापरबाही हुँदा यस्तो घटना बढेको हुन सक्ने उहाँको भनाई छ । अभिभावकले आफ्नो बालबालिकाको राम्ररी हेरचार नगर्दा, सचेत नगराउँदा यस्तो घटना हुने गरेको उहाँले बताउनुभयो । बालबालिकाहरु पनि सामाजिक सञ्जालको दुरुपयोग गर्दा र अभिभावकसँग सल्लाहबिना निर्णय लिँदा यस्तो घटना हुन सक्ने उहाँले बताउनुभयो । अहिले बाल दुव्र्यवहारको घटना पनि बढेको पाइएको उहाँले बताउनुभयो । अहिले बाल दुव्र्यवहार भएर मुद्दा चल्ने तर पीडित बालिकाले न्याय नपाएको होकी भन्ने आफुलाई लागेको उहाँले बताउनुभयो । यस्ता प्रकृतिका मुद्दा कतिपय राजनीतिसँग जोडेर आएको हुने उहाँले बताउनुभयो । राजनीतिसँग जोडिएका घटनाहरु दबावका कारण फिर्ता हुने गर्दा घटनामा पीडितले न्याय नपाउन सक्ने उहाँले बताउनुभयो ।

यस्ता खालको घटनामा पीडक भनिएको पनि फस्न सक्ने सम्भावना हुने भएकाले घटनालाई निष्पक्ष ढङ्गबाट हेर्नुपर्ने उहाँले बताउनुभयो । घटनालाई राम्रोसँग अनुसन्धान गरी वास्तविक पीडतलाई न्याय दिनुपर्ने र पीडकलाई कारबाही गर्ने वातावरण बन्नुपर्ने उहाँको भनाई छ । यस्ता खालको घटना कम गर्न अभिभावक नै जिम्मेवारी हुनुपर्ने उहाँले बताउनुभयो । बाल हेल्पलाईनले बालबालिकाको क्षेत्रमा हुने सबै खाले घटनाबारेमा नजिक रहेर काम गरिरहेको उहाँले बताउनुभयो ।