हेटौँडाका एक युवा नागको फोटो टाँस्दै ।

हेटौँडाः आज सोमबार नागपञ्चमी पर्व मनाइँदै छ । घरको ढोकामाथि नागको फोटो टाँसेर विधिपूर्वक पूजा गरी नागपञ्चमी मनाइँदैछ ।

हिन्दू धर्मशास्त्रअनुसार हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । ज्योतिष शास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता भएकाले यस दिन नागका अष्टकूल (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट र शंख) का नागहरुको पूजा गरिन्छ । ती नाग वा तिनको नाम लेखिएको चित्र घरको मूल ढोकामाथि वा ढोकाको दायाँबायाँ गाईको गोबरले टाँसेर पूजा गर्ने शास्त्रीय परम्परा रहेको छ ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले आजको दिन नागपूजाका लागि उत्तम मानिन्छ ।

सनातन वैदिक परम्परामा नागलाई देवताको रुपमा सम्मान गरिन्छ । यसकारण पनि नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत विषालु जीवको भय र आगलागी, चट्याङ आदि प्राकृतिक प्रकोपबाट सुरक्षित रहन सकिन्छ भन्ने धार्मिक मान्यता छ । नागपञ्चमीका दिन नागको तस्वीरलाई घरको मूलढोकामा टाँसेर पूजा अर्चना गर्दै नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन छ । घरको ढोकामा नागको चित्र टाँस्ने र नागपूजा गर्ने परम्पराले हाम्रो प्रकृतिसँग सुमधुर सम्बन्ध भएको र त्यसलाई कायम राख्नुपर्ने कुरालाई संकेत गर्दछ ।