हेटौँडाः झरना साहित्यिक परिवार मकवानपुरले एकैदिन दुईवटा विद्यालयमा काव्य प्रशिक्षण गरेको छ । बुधबार बकैया गाउँपालिकामा रहेको बुद्ध मावि र बागमती गाउँपालिकामा रहेको जनता माविमा काव्य प्रशिक्षण गरेको हो । झरनाले २९१ औँ साहित्य शृङ्खलाअन्तर्गत बुद्ध मावि हात्तिसुँडेमा माध्यमिक तहका विद्यार्थीलाई काव्य प्रशिक्षण गरेको हो ।

कार्यक्रममा बुद्ध माविमा अध्ययनरत ८० जना विद्यार्थीहरुलाई कविता, गीत र गजल लेखन सम्बन्धी प्रशिक्षण दिइएको छ । बुद्ध माविमा भएको कार्यक्रममा बुद्ध माविका प्रधानाध्यापक प्रेम बोम्जन, सहायक प्रधानाध्यापक योगबहादुर राई तथा शिक्षक सुरेश रेग्मीलगायतको आतिथ्य रहेको थियो । यस्तै, बुधबार नै झरनाको २९२ औँ साहित्य शृङ्खलाअन्तर्गत जनता मावि बागमतीमा काव्य प्रशिक्षण गरेको छ ।

माध्यमिक तहका विद्यार्थीलाई काव्य प्रशिक्षण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिको रुपमा बोल्नु हुँदै झरनाका संरक्षक रमेशमोहन अधिकारीले आफुसँग भएको क्षमतालाई प्रष्फुटन गर्नका लागि यस्ता कार्यक्रमले सहजीकरण गर्ने बताउनुभयो । उहाँले आफुभित्र भएको प्रतिभालाई सबैले समयमै चिन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका विशेष अतिथि यादवराज बरालले झरनाले गाउँमा पुगेर यस्ता कार्यक्रम गर्दा विद्यार्थीलाई सिर्जनशील हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा जनता माविमा माध्यमिक तहमा अध्ययनरत ६० जना विद्यार्थीलाई कविता, गीत र गजल लेखन सम्बन्धी प्रशिक्षण दिइएको थियो । कार्यक्रममा बुद्ध माविका प्रधानाध्यापक प्रेम बोम्जन, जनता माविका सहायक प्रधानाध्यापक दिनेश माझी, समाजसेवी बिष्णु घिमिरे, शिवराम ढकालको आतिथ्य रहेको थियो ।

झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष विश्वनाथ सञ्जेलको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव मसान उपासकले काव्य प्रशिक्षण दिनुभएको थियो भने कार्यसमिति सदस्य प्रेम बोम्जनले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । “सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान” अन्तर्गत काव्य प्रशिक्षण गरिएको संस्थाका सचिव मसान उपासकले जानकारी दिनुभयो । अबको पुस्ता सिर्जनशील रहे मात्रै समाज उन्नत बाटोमा जाने भएकोले यो अभियान चलाएको उहाँले बताउनुभयो ।