सांकेतिक तस्वीर । गुगल ।

हेटौँडाः जिल्लास्तरीय खुला टेबलटेनिस प्रतियोगितामा २५ जनाको सहभागिता रहनेभएको छ । नेपाल खेलकुद महासंघ मकवानपुरको आयोजनामा भोलि शुक्रबार र पर्सी शनिबार हेटौँडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगिताको विजेताले नगद ५ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने महासंघका सचिव संगीत श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले राष्ट्रिय टिममा सहभागिताको अवसर समेत प्राप्त गर्ने सचिव श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा १६ वर्षभन्दा बढी उमेर समूहका सहभागी रहने उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागीले एकल प्रतिस्पर्धामा मात्रै सहभागिता जनाउनेछन् ।

लामो समयदेखि टेबलटेनिस प्रतियोगिता आयोजना हुन नसकेको सन्दर्भमा महासंघले प्रतियोगिताको सुरुवात गरेको सचिव श्रेष्ठले जानकारी दिनुभएको छ । आगामी दिनमा टेबलटेनिस प्रतियोगितालाई नेपाल खेलकुद महासंघले नियमितरुपमा सञ्चालन गर्दै जाने उहाँको भनाइ छ ।