हेटौँडाः मकवानपुर जिल्लामा पछिल्लो २४ घण्टामा १२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले बिहिबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार संक्रमण पुष्टि हुने १२ जना नै हेटौँडा उपमहानगरपालिका भित्रका रहेका छन् । यस्तै डेंगु संक्रमणबाट बिहिबार एकजनाको मृत्यु भएको छ ।
मकवानपुर जिल्लामा साउन १ गतेयता ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस अवधिमा हेटौँडा उपमहानगरपालिका भित्र ५४ जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडा उपमहानगरपालिका भित्र साउन महिनामा २८ जना पुरुष र २६ जना महिलामा डेंगु देखिएको जनस्वास्थ्य निर्देशनालयका सार्वजनिक स्वास्थ्य अधिकारी नवदीप सिलवालले जानकारी दिनुभयो ।
यस्तै, हेटौँडा अस्पतालमा बिहिबार २७ जनाले डेंगु जाँच गराएका थिए । जाँच गराएका २७ जना मध्ये ४ जनामा डेंगु देखिएको छ । डेंगु १ महिला र ३ पुरुषमा देखिएको हेटौंडा अस्पतालका प्रयोगशाला प्राविधिक राजकुमार शर्माले जानकारी दिनुभयो ।