फाइल तस्वीर ।

हेटौँडाः भोलि शुक्रबार र पर्सी शनिबार दुई दिन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत ग्रेडवृृद्धि मौका परीक्षाका लागि मकवानपुर जिल्लामा ४ वटा परीक्षा केन्द्र तोकिएको छ । हेटौँडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालय र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय र बालजागृति इंग्लिस सेकेण्डरी बोर्डिङ स्कुललाई परीक्षा केन्द्र तोकिएको छ ।

भूटनदेवी मावि परीक्षा केन्द्रबाट ३ सय ७ जना, आधुनिक राष्ट्रिय मावि परीक्षा केन्द्रबाट २ सय ९७ जना, सिद्धार्थ मावि परीक्षा केन्द्रबाट २ सय ९४ र बालजागृति इङलिस बोर्डिङ स्कुल परीक्षा केन्द्रबाट २ सय ७० जना गरी एक हजार एक सय ६८ जनाले परीक्षा दिनेछन् । परीक्षाको केन्द्राध्यक्ष सम्बन्धित विद्यालयको प्रधानाध्यापकलाई तोकिएको छ ।

परीक्षाको आवश्यक सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बललाई पत्राचार गरिएको शिक्षा विकास तथ समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमले जानकारी दिनुभयो । यस्तै उत्तरपुस्तिका समेत सम्बन्धित परीक्षा केन्द्रमा पुगिसकेको छ । ग्रेड सी वा सो भन्दा कम कम ग्रेड प्राप्त भएका दुई वटा विषयको ग्रेडवृद्धि परीक्षा दिन पाउने । कुनै दुई विषयमा अनुपस्थित भए पनि मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।