हेटौँडाः पशुबस्तुमा लाग्ने रोग लम्पी स्कीनलाई नियन्त्रण गर्न बागमती प्रदेश सरकारले सप्ताहव्यापी कार्यक्रम गर्दैछ । बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पत्रकार सम्मेलन गर्दै पशुमा लाग्ने रोग लम्पी स्कीन नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।
पशुमा लाग्ने यो रोग भाइरसको रुपमा फैलिँदै गएको छ । बागमती प्रदेशमा १० लाख ९९ हजार ५ सय ६० गाई र ८ लाख ९६ हजार २ सय १३ वटा भैँसी रहेको उल्लेख गर्दै मन्त्रालयले सप्ताहव्यापी खोप अभियानमा ५० हजार पशुमा खोप लगाउने लक्ष्य राखेको छ । मन्त्रालयले लम्पी स्किन रोग नियन्त्रण कार्यक्रमका लागि ७५ लाख बजेट बिनियोजन गरेको छ । प्रदेशमा गत पौष महिनामा मकवानपुरको मकवानपुरगढी गउँपालिकामा यो रोगको संक्रमण पाइएकोमा हाल १३ वटै जिल्लामा संक्रमण फैलिसकेको छ । प्रदेश भरमा रोगबाट २ लाख ४ हजार ९ सय ८८ पशु प्रभावित भएका छन् भने ६ हजार २ सय ९१ पशुको संक्रमणको कारण मृत्यु भएको छ । प्रदेशमा १ लाख ३२ हजार ९ सय पशुमा रोग विरुद्धको खोप लगाइएको मन्त्रालयले दावी गरेको छ । प्रदेशमा रोगको संक्रमणको कारण १०.२७ प्रतिशत पशु विरामी भएकोमा ३.१ प्रतिशत पशुको मृत्यु भएको छ ।
खोप कार्यक्रम साउन २५ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ । प्रदेश सरकारले एकै समयमा रोग नियन्त्रणका लागि ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, चितवन, दोलखा, काभ्रे र सिन्धुली गरी ८ जिल्लामा मात्र खोप अभियान सञ्चालन गर्ने जनाएको छ । संक्रमित पशुमा खोप लगाउँदा पशुमा खतरा बढ्ने भएकाले संक्रमण नभएको पशुमा खोप लागाउने मन्त्रालयले जनाएकोे छ । खोप अभियानका लागि प्रत्येक जिल्लाका स्थानीय तहहरुको समन्वयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत खोप कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ । प्रदेशका ९१ स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन गर्न १ सय ४६ जना भ्याक्सिनेटर नियुक्त गरिसकेको छ । खोप अभियान पश्चात मन्त्रालयले खोप कार्यलाई निरन्तरता दिने जनाएको छ ।
पशुको संख्याको आधारमा खोपको संख्या कम भएको भन्ने पत्रकारले राखेको प्रश्नको जवाफमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठले संक्रमित पशुमा खोप हानिकारक हुने भएकाले संक्रमित नभएको पशुमा खोप लगाउने जानकारी दिनुभयो । गर्मी महिनामा यो रोग बढी फैलने भएकाले खोपसँगै रोगबाट पशुलाई कसरी बचाउन सकिन्छ भनेर किसानलाई परामर्श दिइने उहाँले बताउनुभयो । लम्पी स्कीन रोग नियन्त्रणका लागि मन्त्रालयले चालेको कदम महत्वपूर्ण भएको मन्त्री श्रेष्ठले दावी गर्नुभयो । एक पटक खोप लगाएपछि एक वर्षसम्मका लागि हुने भएकाले खोप लगाउन नसक्दा धेरै क्षति पुुगेको उहाँको भनाइ रहेको छ । मन्त्रालयले विभिन्न विविधताको कारणले गर्दा सबै ठाउँमा खोप लगाउन नसकिएको बताउनुभयो ।