हेटौँडाः विश्वविद्यालय तहको शिक्षा आर्जन गर्ने वडाका विद्यार्थीलाई यातायात खर्चकै कारण नियमित पठनपाठनमा समस्या हुने अवस्था भए वडा कार्यालयले यातायात खर्च व्यहोरिदिने भएको छ ।
हेटौँडा उपमहानगरपालिकाको १८ नम्बर वडा कार्यालयले बुधबार एक सूचना जारी गर्दै हेटौँडा बजार क्षेत्रमा रहेका क्याम्पसमा विश्वविद्यालय तहको शिक्षा हासिल गर्ने विद्यार्थीका लागि यस्तो कार्यक्रम ल्याइएको जनाएको छ ।
वडाका स्थायीवासीले वडामा निवेदन दिन वडाले आव्हान गरेको छ । वडाभित्रै क्याम्पस नभएको अवस्थामा विश्वविद्यालय तहको शिक्षा हासिल गर्न वडा भन्दा टाढा जानुपर्ने बाध्यात्मक अवस्थामा आर्थिक अभावकै कारण शिक्षाबाट बञ्चित हुन नपरोस् भनी सहयोगको योजना ल्याएको वडा अध्यक्ष अनिल कुमार बानियाँले जानकारी दिनुभएको छ ।