हेटौँडाः मकवानपुरको भीमफेदी गाउँपालिका–१, सुपरोटारस्थित नेपाली सेनाको मध्यपृतना हेडक्वार्टरमा जारी पृतनापति ट्रफी–२०८० अन्तर्गत फुटबलतर्फ शिवदल गण र गोरखबहादुर गण फाइनलमा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा आइतबार जबरजंग गणलाई ६–० को फराकिलो गोलअन्तरले पराजित गर्दै शिवदल गण शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । यस्तै समूह चरणको अन्तिम खेलमा नयाँ सबुज गणसँग १–१ गोलको बराबरी खेल्दै गोरखबहादुर गण दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । ४ वटा गणको सहभागिता रहेको फुटबलमा समूह चरणमा पहिलो र दोस्रो स्थानमा रहने टिमबीच फाइनल खेलाइने छ । फुटबलको फाइनल खेल साउन २५ गते हुनेछ ।
पृतनापति ट्रफीअन्तर्गत हाफ म्याराथनमा गोरखबहादुर गणका सिपाही सन्तोष नेपाली प्रथम भएका छन् भने जबरजंग गणका सिपाही सुदीप श्रेष्ठ द्वितीय हुँदा गोरखबहादुर गणकै सिपाही भुपेन्द्र सुनार तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुने नेपाली, श्रेष्ठ र सुनार प्रधान सेनापति ट्रफीमा सहभागी हुनेछन् । २१ किलोमिटरको निर्धारित दूरी नेपालीले १ घण्टा २१ मिनेट २६ सेकेण्डमा पार गरे भने श्रेष्ठले १ घण्टा २२ मिनेट १८ सेकेण्डमा पूरा गरे । यस्तै सुनारले १ घण्टा २३ मिनेट ३४ सेकेण्डमा निर्धारित दूरी पार गरे । हाफ म्याराथनमा ११ जना खेलाडी सहभागी थिए ।
पृतनापति ट्रफी अन्तर्गत नै भलिबल खेल आइतबारबाट सुरु भएको छ । आइतबार भलिबलतर्फ गोरखबहादुर गणले जबरजंग गणलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । यस्तै अर्को खेलमा शिवदल गणले नयाँ सबुज गणलाई ३–१ को सेटमा पराजित गरेको छ । मध्यपृतना हेडक्वार्टरअन्तर्गत ४ वटा गणबीच ७ वटा खेलमा पृतनापति ट्रफी भइरहेको छ । आज सोमबारबाट बास्केटबलका खेल पनि सुरु हुने मध्यपृतना हेडक्वार्टरका मेजर नीरकुमार कार्कीले जानकारी दिनुभएको छ ।