चोरीको सुन किन्ने पसलको तस्वीर ।

हेटौंडाः मकवानपुर प्रहरीले सुन चोरी गर्ने र चोरीको सुन किन्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–६, चुच्चेखोलाका ३४ वर्षीय दिनेश नेपाली र हेटौंडा–२ स्थित पूर्ण शाक्य एण्ड सन्स सुनचाँदी पसलका प्रतीक शाक्य रहेका छन् ।

साउन १० गते बिहान हेटौंडा–१७ स्थित चुनडाँडाका ३२ वर्षीया प्रमिला कार्कीको घरको ढोका फोरेर सुन, चाँदी, मोबाइल र फलामको खुकुरी चोरी भएको थियो । कार्कीले हेटौंडा–६, चुच्चेखोलाका दिनेश नेपालीमाथि शंका लागेर १० गतै नै जिल्ला प्रहरी कार्यालय मकवानपुुरमा निवेदन दिएकी थिइन् ।

प्रहरीले नेपालीलाई खोजी गर्ने क्रममा ११ गते बिहान उनको घरमा पुग्दा २८ हजार रुपैयाँ, मोबाइल एक थान र खुकुरी फेला पारेको थियो । नेपालीले कार्कीको घरबाट उक्त गरगहना चोरेर सुनचाँदी पसलमा लगेर बेचेको भनी प्रहरीलाई बताएका थिए । प्रहरीले नेपालीलाई पक्राउ गरेर सुनचाँदी पसलमा गई अनुसन्धान गर्दा पसलका प्रतीक शाक्यलाई उक्त गरगहना बेचिएको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका दुई जनामाथि चोरी मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा अन्य व्यक्तिहरु पनि संलग्न भएको हुुनसक्ने अनुमान प्रहरीको छ ।