हेटौंडा अस्पतालको तस्विर ।

हेटौँडाः हेटौँडा अस्पतालमा एकसाथ ३ वटा अल्ट्रासाउण्ड (भिडियो एक्सरे) मेसिन प्रयोगमा ल्याइएको छ । सेवाग्राहीको चाप बढेसँगै एकमहिनादेखि हेटौँडा अस्पतालले ३ वटा अल्ट्रासाउण्ड मेसिन सञ्चालनमा ल्याइएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामचन्द्र सापकोटाले जानकारी दिनुभएको छ । सेवाग्राहीको चापलाई व्यवस्थापन गर्न जनशक्तिको अभाव भइरहेको उहाँको भनाइ छ ।

“सेवाग्राहीको चापअनुसार अल्ट्रासाउण्ड सेवा विस्तार गर्न हेटौँडा अस्पतालका लागि ६ जना रेडियोलोजिस्ट आवश्यक हुन्छ”, डा. सापकोटाले भन्नुभयो, “हामीसँग अहिले ३ जना मात्रै रेडियोलोजिस्ट छन् । एक महिनाअघि एउटा अल्ट्रासाउण्ड मेसिन थपेर सेवा थप गरेका छौं । आगामी २ महिनाभित्र एमआरआई मेसिन पनि सञ्चालनमा आउँदा रेडियोलोजिस्टको अभाव हुनेछ ।” रेडियोलोजिस्टको अभावका कारण थप नियुक्त गर्न पनि समस्या भइरहेको उहाँको भनाइ छ ।

हेटौँडा अस्पतालमा ४ वटा अल्ट्रासाउण्ड मेसिन भए पनि जनशक्तिको अभावमा ३ वटा मात्रै मेसिन प्रयोग भइरहेको छ । पेटसम्बन्धी स्वास्थ्य समस्या पहिचान गर्न र उचित उपचारका लागि अल्ट्रासाउण्ड सेवा महत्वपूर्ण रहन्छ । हेटौँडा अस्पतालमा पत्थरी र पाठेघरको समस्या लिएर अल्ट्रासाउण्ड गराउन आउने सेवाग्राहीको संख्या बढी भएको रेडियोलोजिस्ट डा. सुयोग्य वाग्लेले जानकारी दिनुभयो । अल्ट्रासाउण्ड गरेर शरीरको भित्री भागको रोग पत्ता लगाउन सहयोग पुग्ने उहाँले जानकारी दिनुभयो ।

हेटौँडा अस्पतालकै अन्य विभागबाट चिकित्सकले स्वास्थ्य परीक्षण गरेपछि अल्ट्रासाउण्ड गराउन आवश्यक विरामीलाई सिफारिस गरेर पठाइन्छ । धेरै महिलाहरु तल्लो पेट दुखेर अल्ट्रासाउण्ड गर्न आउने डा. वाग्लेले बताउनुभयो । अल्ट्रासाउण्ड गराउनेमा गर्भवती महिलाको संख्या पनि उल्लेख्य रहन्छ । हेटौँडा अस्पतालमा डा. सुयोग्य वाग्लेसँगै डा. रुपेन्द्र खड्गी र डा. संगीत कुमार साहले अल्ट्रासाउण्डको सेवा प्रदान गर्नु हुन्छ । हेटौँडा अस्पतालमा दैनिक एक सय ५० को हाराहारीमा अल्ट्रासाउण्ड गराउने विरामी हुन्छन् । स्वास्थ्य बीमा कार्यक्रमका कारण हेटौँडा अस्पतालमा सेवाग्राहीको संख्या बढेको छ भने अस्पताल बाहिरका निजी स्वास्थ्य संस्थामा अल्ट्रासाउण्ड सेवाको मूल्य बढी भएका कारण पनि अस्पतालमा सेवाग्राही बढ्दो क्रममा छ ।