हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नयाँ नागरिकता लिनेको संख्या घटेको छ नागरिकताको प्रतिलिपि लिनेको संख्या भने उच्चरुपले बढेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ८ हजार ७ सय ८ जना पुरुष र ९ हजार ८ सय ३३ जना महिला गरी १८ हजार ५ सय ४१ जनाले नयाँ नागरिकता लिएका थिए । गत आर्थिक वर्ष २०७९/०८० मा भने ७ हजार ६४ जना पुरुष र ७ हजार ९ सय ६८ जना महिला गरी १५ हजार ३२ जनाले नयाँ नागरिकता लिएका हुन् ।
आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा नयाँ नागरिकता लिनेका संख्या ३ हजार ५ सय ९ जनाले घटेको छ । यसैगरी नगरिकताको प्रतिलिपि लिनेको संख्या भने २ हजार ५ सय १४ जनाले बढेको छ । आर्थिक वर्ष २०७८/०७९ मा १० हजार २ सय १६ जनाले नागरिकताको प्रतिलिपि लिएकोमा आर्थिक वर्ष २०७९/०८० मा १२ हजार ७ सय ३० जनाले नागरिकताको प्रतिलिपि लिएका थिए ।
यस्तै, कार्यालयबाट राहदानी लिनेको संख्या उच्च देखिएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा २३ हजार ३ सय ८३ वटा राहदानीको लागि सिफारिस भएकोमा कार्यालयबाट २१ हजार ६ सय वटा राहदानी वितरण भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ६ हजार ९ सय ४७ वटा राहदानी सिफारिस भएको थियो भने ६ हजार ५ सय ३२ वटा राहदानी वितरण भएको थियो । आर्थिक वर्ष २०७८÷०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा राहदानी लिनेको संख्या १५ हजार ६८ जना बढी पाइएको छ ।
नागरिकताको प्रतिलिपि लिनेको संख्या बढ्नुमा हराएमा, विवाह भएर आएका महिलाको पतिको नामबाट बनाउन परेमा, नागरिकता व्यहोरा संशोधन गर्न परेमा, बसाईसराई गरी आएकाको स्थायी ठेगाना राख्न परेमा प्रतिलिपि लिने गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । यस्तै, वैदेशिक रोजगारीमा जाने मानिसको संख्या बढेकाले राहदानी लिनेको संख्या बढको उहाँले जानकारी दिनुभयो ।
अहिले कार्यालयमा राष्ट्रिय परिचयपत्र वितरणको काम भइरहेको छ । कार्यालयमा केन्द्रबाट ३८ हजार ५ सय ४१ जनाको परिचयपत्र अएकोमा १८ वटा वितरण भएको र अरु वितरणको क्रममा रहेको शर्माले बताउनुभयो ।
कार्यालयमा सुनुवाई हुने मुद्दाहरुमा मुद्दाको प्रकृतिअनुसार अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा फछ्र्यौट हुन बाँकी रहेको २९ वटा र गत आर्थिक वर्ष २०७९/०८० मा दर्ता भएका एक सय ५४ वटा मुद्दामध्ये एक सय ५८ वटा मुद्दा फछ्र्यौट भएको छ । कार्यालयमा ४४ वटा नयाँ संस्था दर्ता भएको छ भने ३ सय वटा संस्था नवीकरण भएको छ । कार्यालयमा दर्ता भएका स्येडुप फेन्दो–बौद्ध संस्था मकवानपुरगढी र मनहरी लोकल ढुवानी व्यवसायी संघ मनहरी खारेज गरिएको छ ।
गत आर्थिक वर्षमा कार्यालयले ३ सय ८९ वटा नाबालक परिचयपत्रसमेत जारी गरेको छ । कार्यालयले विपद्को समयमा राहत र उद्दारका लागि ३७ जना मानिसलाई २८ लाख ५० हजार रुपैयाँ वितरण गरेको जनाएको छ ।