चुरेकालिका युथ क्लबको टिम ।

हेटौँडाः हेटौँडामा जारी प्रथम समाज कल्याण कप फुटबल प्रतियोगितामा चुरेकालिका युथ क्लब सेमिफाइनल प्रवेश गरेको छ । हेटौँडा–१४, मयूरधापस्थित कालापानी मैदानमा मंगलबार भएको क्वाटरफाइनल खेलमा चुरेकालिका युथ क्लबले सगरमाथा युथ क्लब ‘बी’ लाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

चुरेकालिका युथ क्लबको तर्फबाट पहिलो हाफको १८ औं मिनेटमा विशाल तामाङले निर्णायक गोल गरेका थिए । चुरेकालिका युथ क्लबको तर्फबाट क्याप्टेन पासाङ भोलन खेलको म्यान अफ द म्याच घोषित भए । बुधबारको पहिलो खेल २ः०० बजे सगरमाथा युथ क्लब ‘ए’ र नागस्वती युथ क्लबबीच हुनेछ भने दोस्रो खेल ४ः०० बजे समाज कल्याण ‘ए’ र चुरेकालिका युथ क्लबबीच हुनेछ । प्रतियोगितामा १६ वटा टिमको सहाभागिता रहेको छ । प्रतियोगितामा विजयी टिमले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।