मकवानपुरका खेलाडीको बिदाई गरिँदै । फाइल तस्बीर

हेटौँडाः राष्ट्रिय टिम तयारीका लागि यु–१६ फुटबल खेलाडी छनौट कार्यक्रम अन्तर्गत् प्रदेश छनौट खेल्नका लागि मकवानपुरका खेलाडीहरुलाई विदाई गरिएको छ । मंगलबार जिल्ला खेलकुद विकास समिति मकवानपुरको कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गर्दै मकवानपुर जिल्ला फुटबल संघले खेलाडीलाई विदाई गरेको हो ।

जिल्लामा पहिलो चरणको छनौटमा परेका खेलाडीहरुले बुधबार र बिहिबार दोस्रो चरणमा प्रदेशस्तरीय छनौटमा सहभागी हुनेछन् । बागमती प्रदेशको छनौट खेल काठमाडौँमा हुनेछ । प्रदेश छनौटका लागि मकवानपुरबाट २७ जना खेलाडीलाई विदाई गरिएको हो । खेलाडी विदाई गर्नुहुँदै जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्गीले खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गर्नुभएको छ । अनुशासन नै खेलाडीको प्रमुख कुरा रहने भन्दै उहाँले छनौटका लागि शुभकामनासमेत दिनुभएको छ ।

जिल्ला, प्रदेश हुँदै राष्ट्रिय छनौट प्रक्रियाबाट अखिल नेपाल फुटबल संघले नेपाली राष्ट्रिय टिम तयार पार्ने योजना बनाएको छ । यु–१६ राष्ट्रिय टिमले दक्षिण एसियाली यु–१६ फुटबल प्रतियोगितामा सहभागिता जनाउने छ । यु–१६ फुटबल प्रतियोगिता आगामी भदौ १५ देखि २५ गतेसम्म भुटानमा आयोजना हुँदैछ । खेलाडी विदाई कार्यक्रममा जिल्ला फुटबल संघका उपाध्यक्ष युवराज लामा, महासचिव छवि सुवेदी र सचिव सुनिल लोप्चन र जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लगायतको उपस्थिति रहेको थियो ।