हेटौंडा अस्पतालको तस्विर ।

हेटौंडाः हेटौंडा अस्पतालमा जनशक्तिको अभाव बढ्दै गएको छ । अस्पतालको इमर्जेन्सी विभागमा बिरामीको संख्या धेरै र जनशक्ति कम देखिएको हो ।

अस्पतालको इमर्जेन्सी विभागमा दैनिकि एक सयदेखि एक सय ५० जनासम्म बिरामी आउने गरेको इमर्जेन्सी इन्चार्ज सन्तोषकुमार माझीले जानकारी दिनुभयो । तीन सिफ्टमा चल्ने अस्पतालको इमर्जेनसी विभागमा एक सिप्mटमा २ जना डाक्टर बस्ने गरेको उहाँले बताउनुभयो ।

इमर्जेन्सी विभागमा धेरै बिरामीहरु दुर्घटनामा परेर, विष खाएर, सर्पले टोकेर, दम, पखाला, पेट दुखेर र कमजोरी भएर आउने गर्दछन् । विभागमा धेरैजसो २० वर्षदेखि ६० वर्षसम्मका बिरामी आउने माझीले बताउनुभयो । अस्पतालमा बालबालिका पेट दुखेर र ज्वरो आएर, वयस्कहरु दुर्घटनामा परेर र वृद्धवृद्धा दम र पखाला लागेर आउने गरेका छन् ।

सर्पले टोकेर आउने विरामै विरलै हुने र यस्ता विरामी धेरै तराईबाट आउने गरेको माझीले जानकारी दिनुभयो । माझीका अनुसार अहिले स्वास्थ्यकर्मीहरु एक महिना स्वेच्छिक सेवा गरिरहेका छन् ।

अस्पतालमा जनशक्तिको अभाव भएको र स्वास्थ्यकर्मी थप व्यवस्था गर्नुपर्ने अस्पतालले जनाएको छ । बिरामीहरु आफैं रिफरको कागज मागेर भरतपुर जाने गरेका छन् । अस्पतालले कार्डियो रोगको उपचार गर्न नसकेर अन्य ठाउँमा रिफर गर्ने गरेको माझीले जानकारी दिनुभयो ।

अस्पतालमा उपचार गराउन आउनुभएका मोहनबहादुर केसीले अस्पतालको भवन राम्रो भए पनि सेवा चित्तबुझ्दो नभएको बताउनुभयो । डाक्टरहरुले बिरामीलाई कोठामात्र नचाइरहेको र राम्रो सेवा नदिएको उहाँले बताउनुभयो । केसीले अस्पतालमा कर्मचारी नभएको र राम्रो सेवा नदिएको बताउनुभयो ।

बिरामी कुरुवा प्रेमप्रसाद बिडारीले अस्पतालमा राम्रो डाक्टर नभएको, सानो केसको पनि विश्वासको आधार नरहेको र उपकरण रहेको तर विज्ञ नरहेको बताउनुभयो । साथै, बिरामी कुरुवा एलिसा चौलागाईले अस्पताल राम्रो भएको, डाक्टर समयमा आउने बताउनुभयो । चौलागाईले अस्पताल छिटो छरितो नभएको, अरुको कुरुवा बस्दा आफैं बिरामी हुने बताउनुभयो ।