हेटौंडाः थाहानगरपालिका–६, बज्रबाराहीमा रहेको बज्रबाराही माध्यमिक विद्यालयमा शुक्रबार भानुभक्तका रचना पाठ प्रतियोगिता सम्पन्न भएको छ । २१० औं भानु जयन्तीको अवसरमा आदिकवि भानुभक्त आचार्यका रचना पाठ गरिएको हो ।
रचना पाठ प्रतियोगितामा सिवानी गोपाली र सविना घलान प्रथम हुन सफल भएका छन् । यस्तै, ज्योति लामा द्वितीय र लक्ष्मी बलामी तृतीय हुन सफल भएका छन् । प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई स्टेशनरी सामग्री पुरस्कार प्रदान गरिएको छ । सोही अवसरमा प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पनि स्टेशनरी सामग्रीले पुरस्कृत गरिएको छ । नर्सरीदेखि कक्षा–१२ सम्मको नतिजा प्रकाशन गरी उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।
यस्तै, २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफल हुने विद्यार्थीलाई डाइरीसहित खादाले सम्मानित गरिएको छ । परीक्षामा सहभागी ३८ जना माथिल्लो तहको कक्षामा अध्ययन गर्न योग्य रहेको भन्दै सम्मानित गरिएको विद्यालयका लेखापाल रवीन्द्र बिडारीले जानकारी दिनुभयो । यसैगरी अभिभावकबीच मैत्रीपूर्ण म्युजिकल चियर प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम हुने दिलबहादुर रुम्बालाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । विद्यालयका प्रधानाध्यापक रमेशमान डंगोलको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।