हेटौँडाः त्रिभुवन विश्वविद्यालयअन्तर्गत वनविज्ञान क्याम्पस हेटौँडाका प्राध्यापकहरुले क्याम्पस प्रमुखको राजिनामा माग गरेका छन् । बिहिबार प्राध्यापक संघले क्याम्पस प्रमुखविरुद्ध प्रदर्शन गर्दै राजिनामा माग गरेका हुन् । यसअघि प्राध्यापक संघले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
प्राध्यापक, कर्मचारी, विद्यार्थीको मागको सुनुवाई नगरेको, विभागीय प्रमुखहरु असम्बन्धित व्यक्तिलाई नियुक्त गरेको भन्दै प्राध्यापक संघले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । सोमबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको प्राध्यापक संघका सभापति डा. सूर्य कुमार महर्जनले जानकारी दिनुभएको छ । प्राध्यापकहरुले क्याम्पस प्रमुखको राजिनामा माग गर्दै कार्यकक्षमै प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन् ।
विभिन्न चरणमा आफ्ना माग राखे पनि क्याम्पस प्रमुख शिव कुमार रञ्जनले सम्बोधन नगरेपछि क्याम्पस प्रमुखको कार्यकक्षमै तालाबन्दी गर्न बाध्य भएको सभापति महर्जनले दावी गर्नुभएको छ । प्राध्यापक, कर्मचारी र विद्यार्थी प्रतिनिधिको कार्यदल गठन गरेर २० वुँदे मागपत्र तयार पारिए पनि त्यसलाई कार्यान्वयन गर्न क्याम्पस प्रशासन जिम्मेवार नभएको बताइएको छ । “कार्यदलले सर्वपक्षीय मागलाई एकीकृत गर्ने, प्राथमिकीकरण गर्ने, समाधानको उपाय सुझाउने गरी २० वुँदा तयार पारिएको थियो”, सभापति महर्जनले भन्नुभयो, “कार्यदलको सुझावलाई कार्यान्वयन गर्न क्याम्पस प्रमुखले पहल नै गर्नुभएन । उहाँ जुन पदमा रहेर जे काम गर्नुपर्ने हो त्यो गर्न नसक्नुभएकै कारण हामीले उहाँको कार्यकक्षमा तालाबन्दी गरेका हौं ।”
क्याम्पसको शैक्षिक तथा प्रशासनिक भवन जीर्ण बनेको, प्राध्यापक, कर्मचारीको आवास व्यवस्थित नभएको, आवासीय भवनमा पानी चुहिने, प्रयोगशाला र स्थलगत भ्रमणमा विद्यार्थीलाई लिएर जाने जस्ता विषयमा समस्या भएको सभापति महर्जनले गुनासो गर्नुभएको छ । क्याम्पसको विभागीय संरचनाहरु पनि व्यवस्थित बनाउनु पर्ने आवश्यकता औँल्याउनुहुँदै सभापति महर्जनले भन्नुभयो, “यस्तो अवस्थामा विभागीय प्रमुख असम्बन्धित व्यक्तिलाई नियुक्त गर्नुका साथै दोहोरो जिम्मेवारी दिने तर सम्बन्धित व्यक्तिले जिम्मेवारी पाएका छैनन् ।”
क्याम्पस प्रमुखको विरोधमा विद्यार्थी पनि आन्दोलित छन् । विद्यार्थीले कालोपट्टी बाँधेर विरोध जनाइरहेका छन् । क्याम्पसमा प्राध्यापक, कर्मचारी र विद्यार्थीको आन्दोलन चलिरहे पनि नियमित पठनपाठन भने जारी रहेको सभापति महर्जनले बताउनुभयो । यता क्याम्पस प्रमुख शिव कुमार रञ्जनले भने विभागीय प्रमुखहरु नियमसंगत नियुक्त गरिएको दावी गर्नुभएको छ । बिहिबारका लागि वार्तामा बोलाउँदा प्राध्यापक संघका पदाधिकारीहरु अनुपस्थित रहेको पनि क्याम्पस प्रमुखले जानकारी दिनुभयो । क्याम्पस प्रमुख विरुद्ध विद्यार्थी पनि आन्दोलित छन् । स्नातक र स्नात्तकोत्तर तहको अध्ययन हुने क्याम्पसमा ३ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।