अक्षयकोषमा सहयोग रकमको चेक प्रधानाध्यापक दहाललाई हस्तान्तरण गर्नुहुँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कार्की ।

हेटौँडाः हेटौँडा–४, कर्रास्थित श्रमिक माविमा छात्रवृत्ति अक्षयकोषको घोषणा गरिएको छ । कोषको घोषणासँगै बुधबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्कीले आफ्नो विवाह वर्षगाँठको अवसरमा १० हजार २७ रुपैयाँ कोषमा सहयोग गर्नुभएको छ । कार्कीले सहयोग रकमको चेक विद्यालयका प्रधानाध्यापक श्रीराम दहाललाई हस्तान्तरण गर्नुभएको छ ।

अक्षयकोषमा बुधबारै प्रधानाध्यापक श्रीराम दहालले १० हजार रुपैयाँ, सहायक प्रधानाध्यापक गोपीरमण प्याकुरेलले ६ हजार रुपैयाँ, भूतपूर्व विद्यार्थी तथा शिक्षक अभिभावक संघ (पीटीए) सदस्य निरज सिंह ठकुरीले १५ हजार रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ । कोषमा सहयोेग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष नवीन सिग्देलको पनि उपस्थिति रहेको थियो ।

विद्यालय परिवारबाटै रचनात्मक र सराहनीय कार्य भएको उल्लेख गर्नुहुँदै वडा अध्यक्ष नवीन सिग्देलले वडाबाट विद्यार्थी अक्षयकोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । छात्रवृत्ति अक्षयकोषबाट हुने आम्दानीले गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने प्रधानाध्यापक दहालले जानकारी दिनुभयो ।

विद्यालयले कृषि विकास बैंकको हेटौँडा शाखामा छात्रवृत्ति अक्षयकोषको नाममा खाता पनि खोलिसकेको छ । वडाबाट प्राप्त हुने रकमका लागि भने छात्रवृत्ति कार्यविधि नगरपालिकाले स्वीकृत गर्नुपर्ने व्यवस्था भएकोले उक्त कार्यविधि उपमहानगरमा स्वीकृतिका लागि पेश गरिएको छ । वडा कार्यालयको ५ लाख रुपैयाँ र अन्य क्षेत्रबाट ५ लाख सहयोग संकलन गरी कुल १० लाख रुपैयाँका कोष निर्माण गर्ने लक्ष्य रहेको प्रधानाध्यापक दहालले बताउनुभएको छ ।