गुगल तस्विर ।

हेटौँडाः विभिन्न घटनामा बागमती प्रदेशका विभिन्न जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको सिन्धुली, रामेछाप र चितवन जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–२, हीरापानीमा हाइस बसमा सवार एकजना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका–१० बस्ने ७४ वर्षीया बिमला परियार रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार बिहान ६ बजेको समयमा काठमाडौंबाट मोरङतर्फ जाँदै गरेको बा ३ ख ८०८८ नम्बरको हाइस बिहान ११ बजेर ३० मिनेटको समयमा खाना खान रोकेकोमा वृद्धा खाना खान नआएपछि हेर्दा सिटमा बेहोस अवस्थामा फेला परेकी थिइन् । बेहोस वृद्धालाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

रामेछाप जिल्लाको शैलुङ गाउँपालिका–५ सल्लेनी भिरमा एकजना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा दोरम्बा शैलुङ गाउँपालिका–३, टोकरपुर बस्ने ४१ वर्षीय गणेश पाठक रहेको प्रहरीले जानकारी दिएको छ । पाठक शनिबार बिहान ७ बजेको समयमा घरबाट खेतमा पानी लगाउन जान्छु भनि हिँडेकोमा घर नआएपछि आफन्तले खोजी गर्दा बुधबार दिउँसो १२ बजेको समयमा सल्लेनी भिरमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, चितवन जिल्लाको राप्ती नगरपालिका–११, थाकलटारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय राहुल मोक्तान रहेको प्रहरीले जानकारी दिएको छ । मोक्तान बुधबार साँझ ५ बजेको समयमा घट्टबाट घर जाने क्रममा भुईंमा लत्रिएको विद्युत्को तारमा छुन गई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।