गुगल तस्बिर ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाभित्र रहेका संस्थागत विद्यालयहरुले आउँदो साउन महिनाभित्र विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको विवरण नबुझाए कारवाही गरिने बताइएको छ । तोकेको समय सीमाभित्र आधाभन्दा बढी संस्थागत विद्यालयहरुले विवरण नबुझाएपछि हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालले कानुनबमोजिम कारवाही गरिने बताउनुभएको हो ।

कतिपय विद्यालयले अहिलेसम्म छात्रवृत्ति वितरण गरेको तथ्यांक उपलब्ध गराइरहेकाले पनि तत्काल कुनै पनि कारवाही नगरिएको उहाँले बताउनुभयो । छात्रवृत्ति कार्यक्रमलाई हेटौँडा उपमहानगरपालिकाले साउन महिनाभित्र कार्यान्वयनमा ल्याइसक्नुपर्दछ । विद्यालयको समस्यालाई मध्यनजर गर्दै समय थप गरेर साउन महिनाभित्र तथ्यांक पेश गर्न निर्देशन दिन सकिने उहाँले जानकारी दिनुभयो ।

हेटौँडा उपमहानगरपालिकामा रहेका ४८ वटा संस्थागत विद्यालयमध्ये १९ वटा विद्यालयले मात्र यसअघि छात्रवृत्ति वितरण गरेको विवरण बुझाएका छन् । गत असार ८ गते हेटौँडा उपमहानगरपालिकाले सूचना जारी गर्दै असार २० गतेभित्र विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको विवरण उपलब्ध गराउन निर्देशन दिएको थियोे । निःशुल्क तथा अनिवार्य शिक्षा ऐन २०७५ अनुसार संस्थागत विद्यालयहरुले छात्रवृत्ति दिनुपर्ने हुन्छ ।