हेटौँडाः मकवानपुरको मनहरी र राक्सिराङ गाउँपालिकामा विपद् पूर्वतयारी तथा प्रतिकार्य अभ्यास गरिएको छ । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा सशस्त्र प्रहरी बल १४ नम्बर गणको सहकार्यमा बुधबार दुईवटा पालिकामा समुदायका लागि विपद् पूर्वतयारी तथा प्रतिकार्य अभ्यास भएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैँडाको अध्यक्षतामा संचालन भएको अभ्यासमा आगलागी हुँदा, चट्याङ पर्दा, भूकम्प आउँदा अपनाउनु पर्ने सावधानी तथा त्यस्ता विपद्को अवस्थामा कस्ता–कस्ता कार्य गर्दा जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ भन्ने उद्देश्यले अभिमुखीकरण गराउनुका साथै अपनाउनु पर्ने सतर्कताका विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, राक्सिराङ गाउँपालिकाका विपद् व्यवस्थापन शाखाका प्रमुख गोविन्द अधिकारी, सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रममा सैद्धान्तिक प्रस्तुतीका साथै प्रयोगात्मक अभ्यास समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम सशस्त्र प्रहरी बल १४ नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक अनिल कार्कीले सहजीकरण गर्नु भएको थियो । यस्ते आज बिहिबार मकवानपुरको कैलाश गाउँपालिकामा विपद् पूर्वतयारी तथा प्रतिकार्य अभ्यास संचालन हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद् व्यवस्थापन प्रमुख रविता कार्कीले जानकारी दिनु भएको छ ।