हेटौंडाः चालु शैक्षिक सत्र २०८० मा हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालयहरु २ सय ३७ दिन खुल्ने भएका छन् । उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले निर्माण गरेको शैक्षिक सत्र—२०८० को शैक्षिक क्यालेन्डरअनुसार हेटौंडाका विद्यालयहरु २ सय ३७ दिने खुल्ने भएका हुन् ।
शैक्षिक क्यालेन्डरको आधारमा चालु शैक्षिक सत्रका कार्यक्रम सञ्चालन हुने हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिनुभयो । चालु शैक्षिक सत्रमा हेटौंडाका विद्यालयहरु २ सय ३७ दिन खुले पनि २ सय एक दिनमात्र पठनपाठनको कार्य हुनेछ । शैक्षिक सत्रमा २१ दिन परीक्षा हुने उहाँले जानकारी दिनुभयो ।
पहिलो त्रैमासिक परीक्षाअघि ७१ दिन पठनपाठन हुने, पहिलो त्रैमासिकदेखि अर्धवार्षिक परीक्षासम्म ७८ दिन पठनपाठन हुने र अर्धवार्षिक परीक्षादेखि वार्षिक परीक्षासम्म ५२ दिन पठनपाठन हुने रिमालले बताउनुभयो । गत वैशाख ३ देखि ८ गतेसम्म भर्ना अभियान, पाठ्यपुस्तक वितरण भएको र १० गतेदेखि पठनपाठन सुरु गरिएको थियो । वैशाख २० गतेदेखि ३१ गतेसम्म विद्यालय बाहिर रहेका भर्ना हुन बाँकी बालबालिकाका लागि घरदैलो अभियान सञ्चालन गरिएको थियो ।
उपमहानगरपालिकाले शैक्षिक क्यालेन्डरमा प्रत्येक महिना विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप समावेश गरेको छ । गत वैशाख २९ गते तोकिएका विद्यालयमा शैक्षिक सामग्री प्रदर्शनी र नगरस्तरीय प्रतियोगिता राखिएको थियो । यस्तै, जेठ ५ गते अंग्रेजी हिज्जे प्रतियोगिता (कक्षा ९—१२), १२ गते अंग्रेजी हिज्जे प्रतियोगिता (कक्षा १—५), १९ गते नेपाली वर्णविन्यास तथा हिज्जे प्रतियोगिता (कक्षा १—८) लाई क्यालेन्डरमा राखिएको छ । जेठ २६ गतेलाई विद्यालय कम्पाउण्डमा वृक्षरोपण, छात्रवृत्ति वितरण गरी छात्रवृत्ति दिवस मनाउने कार्यक्रम राखिएको छ ।
असार १ गते नेपाली हिज्जे प्रतियोगिता (कक्षा १—५), अंग्रेजी हिज्जे प्रतियोगिता (कक्षा ६—८), ८ गते वक्तृत्वकला प्रतियोगिता (कक्षा ९—१२) लाई क्यालेन्डरमा राखिएको छ । असार १५ गते घैंटो फुटाइ प्रतियोगिता र नगरस्तरीय कार्यक्रम रहेको छ । यस्तै, नेपाली हिज्जे प्रतियोगिता (कक्षा १—५), अंग्रेजी हिज्जे प्रतियोगिता (कक्षा ६—८), वक्तृत्वकला प्रतियोगिता (कक्षा ९—१२) तोकिएको विद्यालयमा हुनेछ ।
साउनको २ गतेदेखि ९ गतेसम्म पहिलो त्रैमासिक परीक्षा हुनेछ भने १० गतेदेखि ३२ गतेसम्म (२३ दिन) वर्षे बिदा हुनेछ । भदौ ८ गते गीत, नृत्य प्रतियोगिता (कक्षा १—५), १५ र ३१ गते (२ दिन) वर्षे बिदा, २२ गते विज्ञान प्रदर्शनी (कक्षा १—१२), २९ गते बाल दिवस, नृत्य तथा गायन प्रतियोगिता (कक्षा ६—१२) र नगरस्तरीय अतिरिक्त क्रियाकलाप हुने क्यालेन्डरमा उल्लेख छ । असोज २ गते वर्षे बिदा, ५ गते वक्तृत्वकला प्रतियोगिता (कक्षा ९—१२), १२ गते हाजिरीजवाफ प्रतियोगिता (कक्षा ६—८) र २६ गते दशैं विशेष कार्यक्रमलाई क्यालेन्डरमा समावेश गरिएको छ ।
कार्तिक १२ गतेदेखि २४ गते (१३ दिन) वर्षे बिदा, मंसिर १ गते वर्षे बिदा, ४ गतेदेखि ८ गतेसम्म खेलकुद सप्ताह (राष्ट्रपति रनिङशिल्ड तयारी), १५ गते चित्रकला प्रतियोगिता (कक्षा १—८), २२ गते हाजिरीजवाफ प्रतियोगिता (कक्षा ९—१२), २९ गते कविता प्रतियोगिता (कक्षा १—१२) र नगरस्तरीय कार्यक्रम रहेको छ । पुस ८ र २९ गते (२ दिन) वर्षे बिदा, १९ गतेदेखि २६ गतेसम्म अर्धवार्षिक परीक्षा र राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता हुनेछ ।
माघ ५ गते म्युजिकल चियर प्रतियोगिता (कक्षा १—५), १२ गते हस्तलेखन प्रतियोगिता (कक्षा ६—८), १९ गते कविता प्रतियोगिता (कक्षा ६—८), निबन्ध प्रतियोगिता (कक्षा ९—१२), २६ गते हाजिरीजवाफ प्रतियोगिता (कक्षा ६—१२) र नगरस्तरीय अतिरिक्त क्रियाकलाप रहेको छ । फागुन ६ र २७ गते (२ दिन) वर्षे बिदा, चैत १३ गतेदेखि २० गतेसम्म वार्षिक परीक्षा, २१ गतेदेखि २९ गतेसम्म उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशनको तयारी, वार्षिक कार्ययोजना निर्माण र ३० गते नतिजा प्रकाशन गरिने क्यालेन्डरमा उल्लेख गरिएको छ ।