हेटौंडाः मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१२ स्थित सेतीदेवी आधारभूत विद्यालयको प्रधानाध्यापकमा गोमा श्रेष्ठ नियुक्त हुनुभएको छ । मंगलबार श्रेष्ठले जिम्मेवारी सम्हाल्नुभएको छ । नवनियुक्त प्रधानाध्यापक श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता सरल, सहज रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्नु रहेको बताउनुभएको छ ।
नवनियुक्त प्रधानाध्यापक श्रेष्ठले विद्यालयको भवन पुनर्निर्माण गर्नुपर्ने योजना पनि प्रस्तुत गर्नुभएको छ । विद्यालयमा एक सय ५५ जना विद्यार्थी अध्ययनरत् छन् । विद्यालयका अधिकांश विद्यार्थी अभिभावकविहिन अवस्थामा रहेको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभएको छ । कसैको बाबू हुनुहुन्छ भने कसैको आमा नभएको उहाँले बताउनुभयो । गरिबी र अशिक्षितका कारण बहुविवाह गर्ने र रोजगारीको सिलसिलामा विदेशिने कारणले बालबालिका अभिभावकविहीन बन्न पुगेका उहाँको भनाइ छ ।
१७ वर्षदेखि शिक्षण पेशामा आवद्ध श्रेष्ठले हेटौंडा–८, कमानेस्थित चन्द्रोदय माविबाट निजी श्रोतको शिक्षकको रुपमा सेवा सुरु गर्नुभएको थियो । केही समय राहत करार सेवामा रहनुभएकी श्रेष्ठ बकैया गाउँपालिकाकै कालिदेवी आधारभूत विद्यालयमा प्रावि तहमा स्थायी नियुक्ति पाउनु भएको थियो । सेतीदेवी आधारभूत विद्यालयमा भने एक वर्षअघि सरुवा हुनुभएकी श्रेष्ठले विद्यार्थीलाई नियमित विद्यालय आउने वातावरण निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । भौगोलिक विकटताले नियमित विद्यालयमा विद्यार्थीलाई उपस्थित गराउन चुनौति रहेको उहाँको भनाइ छ । केही विद्यार्थी करिब २ घण्टा हिँडेर विद्यालय आउन बाध्य रहेको उहाँले जानकारी दिनुभयो ।