गुगल तस्विर ।

हेटौँडाः रामेछाप र सिन्धुली जिल्लाका विभिन्न घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–३ कुबु काश्थलीमा खोलाले बगाएर एकजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुने ९० वर्षीय ओलक बहादुर सुनुवार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । सुनुवार मंगलबारदेखि हराएकोमा बुधबार १ बजेको समयमा नदीले बगाई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१, डाँडाटोलमा खोलामा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे जिल्ला घर भई हाल मामा घर डाँडाटोल बस्ने ६ वर्षीय मनिस भुजेल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । भुजेल बुधबार घरमा नआएपछि आफन्तले खोजतलास गर्ने क्रममा मामा घरबाट २ सय मिटर पर बिचित्र खोलाको ढुंग्रेदहमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, सिन्धुली जिल्लाकै पाँचखाल नगरपालिका–८, होक्सेमा स्थानीय डेरीबाट ल्याएको दही खाँदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीया कविता बिक रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । बुधबार बिकले आफ्नै घरमा स्थानीय डेरीबाट ल्याएको दही खाँदा बिरामी भई उपचारका लागि पाँचखाल पोलिक्लिनिक लगिएको थियो । बिकलाई थप उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।