हेटौँडाः बागमती प्रदेशमा प्रदेश लोकसेवा आयोगबाट नियुक्त कर्मचारीहरुको वैयक्तिक विवरण (पिआईएस) राख्ने कार्यको शुरुवात भएको छ । बिहिबार मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश तहमा नियुक्त ९ जना कर्मचारीहरूलाई पिआईएस वितरणको एकप्रति सम्बन्धित कर्मचारीलाई हस्तान्तरण गरेर पीआईएस राख्ने कार्यको शुरुवात गर्नुभएको हो ।
नेपालको संविधान अनुसार स्थापित प्रदेश र प्रदेशभित्रका स्थानीय तहमा नियुक्त वा बढुवा हुने कर्मचारीहरूको व्यवस्थित अभिलेख राख्न प्रदेश किताबखाना सञ्चालन रहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय किताबखाना निजामती बीच भएको छलफल पश्चात प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई नियुक्त भएका प्रदेश र स्थानीय सेवाका कर्मचारीहरूको पिआईएस उपलब्ध गराउन राष्ट्रिय किताबखाना (निजमती) सँग मिति गत वैशाख २० गते सम्झदारी भई प्रादेशिक पोर्टल हस्तान्तरण भएको थियो ।
प्रदेशमा प्रदेश तहमा नियुक्त कर्मचारीहरूको वैयक्तिक संकेत नम्बर प्रादेशिक पिआईएस पोर्टलबाट सिर्जना गरिएको मुख्यमन्त्री कार्यालयका उपसचिव बद्री पाठकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बागमती प्रदेश स्थापना भएपछि पहिलो पटक पिआईएस वितरण कार्य भएको छ, अब नियमित हुन्छ । बागमती प्रदेशमा प्रदेश लोक सेवा आयोगमातहत १ हजार ५ सय जना निजामती कर्मचारी रहेका छन् ।” राष्ट्रिय किताबखानामार्फत प्रदेश तहमा कार्यरत कर्मचारीहरूका लागि पिआईएस सफ्टवेयर सञ्चालन गर्न तालिम प्रदान गरिएको थियो ।