रक्तदान गर्दै रक्तदाता ।

हेटौँडाः विश्व रक्तदाता दिवस (जुन १४) को दिन बुधबार हेटौँडाका दुई स्थानमा रक्तदान कार्यक्रम भएको छ । दुई स्थानमा भएको रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी पशुपतिनगर उपशाखा हेटौंडा–९ ले आयोजना गरेको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् भने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् ।

मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्याण्डस्टाइनरको जन्मदिन जुन १४ को अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाइन्छ । “नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यमा हातेमालो गरौं” भन्ने नाराका साथ यस वर्षको रक्तदाता दिवस मनाइएको हो । नेपाल रेडक्रस सोसाइटीले २०२३ साल साउन १२ गतेदेखि रक्तसञ्चार सेवा सञ्चालन गर्दै आइरहेको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका सभापति लालबहादुर थापाको प्रमुख आतिथ्य तथा उपशाखा सभापति जनक लम्सालको सभापतित्वको रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला शाखाका उपसभापति खेमराज सापकोटा, यशोदा श्रेष्ठ, मन्त्री सुमित्रा काफ्ले, सदस्य गोकर्ण सुवेदीलगायत उपशाखा समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।