हेटौँडाः हेटौँडा–२ ले वडामा रहेका विजुलीका पोलहरु नम्बर लेख्न सुरु गरेको छ । गत आइतबारदेखि वडाको कान्तिराजपथ र हरिकुञ्जरोडका पोलहरुमा नम्बर लेख्ने काम थालेको छ । विजुलीका पोलहरुलाई वैज्ञानिक शैलीबाट नम्बरिङ गर्ने कार्य सुरु गरिएको वडा अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिनुभयो ।
वडामा करिब ६ सयको संख्यामा विजुलीका पोलहरु रहेको वडा अध्यक्ष महर्जनले बताउनुभएको छ । पोलमा नम्बरिङ गरेपछि कुनै समस्या आए पोल नम्बरअनुसार तत्काल समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । पोलमा नम्बरिङ गर्न वडाले ७५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । पोल नम्बरिङ गर्ने कार्य जेठ महिनाभित्रै सकिने वडा अध्यक्ष महर्जनको भनाइ छ । यसरी पोलमा नम्बरिङ गर्न लागेको २ नम्बर वडा पहिलो हो ।