हेटौँडाः विद्यालय कर्मचारीले आफ्ना माग सम्बोधन नभएको भन्दै आन्दोलन जारी राखेको छ । आइतबार शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरमा धर्ना दिएका विद्यालय कर्मचारीले सोमबार हेटौँडा उपमहानगरपालिकाको कार्यालय परिसरमा धर्ना दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले हेटौँडा उपमहानगरपालिका शिक्षा महाशाखामा ज्ञापनपत्र समेत बुझाएको छ ।
विद्यालय कर्मचारीले उचित पारिश्रमिकका लागि उपमहानगरपालिकामा छलफल राखेको थियो । छलफलमा हेटौँडा उपमहानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकृष्ण कोइराला, हेटौँडा उपमहानगरपालिकाका विज्ञ सल्लाहकार डा. कृष्णप्रसाद धिताल, शिक्षा महाशाखाका अधिकृत रमेश बिडारी, महाशाखा अधिकृत रामचन्द्र खड्काको उपस्थिति रहेको थियो । विद्यालय कर्मचारीको धर्ना कार्यक्रम जेठ २६ गतेसम्म हुने बताइएको छ ।
यसैबीच विद्यालय कर्मचारीहरुको जारी आन्दोलनमा पेशागत महासंघ मकवानपुर, नेपाल शिक्षक संघ मकवानपुरले ऐक्यबद्धता व्यक्त गरेको छ । विद्यालय कर्मचारीहरुले सेवा सुविधा वृद्धिको माग राख्दै गरेको आन्दोलनमा महासंघ र संघ दुवैले ऐक्यवद्धता जनाएको हो ।