हेटौंडाः नयाँ शैक्षिकसत्र २०७७ का लागि मकवानपुर जिल्लाका पुस्तक व्यवसायीले पाठ्यपुस्तक ल्याएका छन् । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न लाकडाउन जारी रहेको र लकडाउनपछि समेत जनजीवन सहज नभई विद्यालय सुचारु हुने सम्भावना नरहे पनि व्यवसायीले आवश्यक तयारी स्वरुप पाठ्यपुस्तक ल्याउन सुरु गरेका हुन् । मकवानपुरका स्थानीय तहले भने विद्यालय सुचारु गर्न आवश्यक तयारी पनि गरिरहेको छ ।
शैक्षिकसत्र २०७६ को वार्षिक परीक्षाको नतीजा सार्वजनिक गरेर मकवानपुरका स्थानीय तहहरुले विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउन सके उनीहरु घरमै बसेर अभिभावकको सहयोगमा स्वअध्ययन गर्न सक्ने अपेक्षामा छन् । बैशाख अन्तिम साता हेटौंडा उपमहानगरपालिकाले पुस्तक व्यवसायी, विद्यालयका सञ्चालक, शिक्षक, अभिभावक संघका प्रतिनिधिको सहभागितामा नयाँ शैक्षिकसत्रका लागि आवश्यक तयारी सम्बन्धमा छलफल समेत चलाएको थियो ।
अहिले हेटौंडाका व्यवसायीले पाठ्यपुस्तक ल्याउने कार्य जारी राखेको छ । बुधबार हेटौंडा–२ स्थित कालिका स्टेशनरीले सरकारी विद्यालयको कक्षा १ देखि १० सम्मका एक हजार सेट पाठ्यपुस्तक ल्याएको जनाएको छ । संस्थागत विद्यालयका पाठ्यपुस्तक पनि व्यवसायीले ल्याउन सुरु गरेको जनाएको छ ।