राष्ट्रपतिको तस्वीर जलाउँदै प्रदर्शनकारी ।

हेटौँडाः हेटौँडामा राष्ट्रपति रामचन्द्र पौडेलको तस्वीर जलाइएको छ । सोमबार वीर गोर्खाली समुह मकवानपुरले राष्ट्रपतिको विरुद्ध प्रदर्शन गर्दै तस्वीर जलाएका हुन् ।

हेटौँडा–४, पारिजातपथबाट वीर गोर्खाली समुहले रेशम चौधरीलाई आम माफी दिएको भन्दै राष्ट्रपतिविरुद्ध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा वीर गोर्खाली समुह मकवानपुरका संयोजक वीरेन्द्र श्रेष्ठको नेतृत्वमा नेपालको झण्डा बोकी पूर्व राजारानीको तस्वीर अंकित टिसर्ट लगाएर नाराबाजी गर्दै र्याली गरेका थिए । र्यालीमा नेपाल प्रहरीलाई न्याय दे, गृहमन्त्री र राष्ट्रपतिको निर्णय फिर्ता गर, राष्ट्रपति वाइ–वाइ, राजतन्त्र हाइ–हाइ, जनतामारा सरकार मुर्दावाद, गणतन्त्र चाहिँदैन, देश बेच्न पाइँदैन, आर्यघाटले के भन्छ गणतन्त्र ले भन्छ भन्दै नाराबाजी गरेका थिए ।

र्याली अजरअमर रोड, बैंक रोड हुँदै सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा वीर गोर्खाली समुहको अभियन्ता विजय सिंह ठकुरीले राज संस्था साझा संस्था भएको बताउँदै देशलाई बचाउन राजा नै चाहिने दावी गार्नुभयो । राजाले देश बेचेको कुनै रेकर्ड नभएको भन्दै नेताहरुले पटक–पटक देश बेचेको आरोप लगाएका थिए । गणतन्त्रले देशको युवालाई बिदेश बेच्ने भन्दा अरु केही नगरेको बताउँदै नक्कली भुटानी शरणार्थी काण्ड अमेरिकी दवावमा मात्र बाहिर आएको बताए ।