सर्भेका लागि उडाइएको ड्रोन उडाइँदै ।

हेटौंडाः लकडाउनको समयमा मौसम सफा रहेको र गतिविधि समेत न्यून भएको मौकामा ड्रोनमार्फत हेटौंडा उपमहानगरक्षेत्रको भौगोलिक सर्भे सुरु भएको छ । नेपाल ईन्जिनियर्स एसोसिएसन बागमती प्रदेश समितिले निशूल्क रुपमा ड्रोनमार्फत सर्भे गर्न लागेको हो । आज हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले ड्रोन उडाउनका लागि स्वीच थिचेर सर्भेको उद्घाटन गर्नुभयो । उपमहानगरपालिका कार्यालयको छतबाट ड्रोन उडाइएको थियो ।

दुई वटा ड्रोनमार्फत सर्भेका लागि तीनजना ईन्जिनियर खटिनेछन् । एउटा उडान करिब ३० मिनेटको हुने उल्लेख गर्नुहुँदै नेपाल ईन्जिनियर्स एसोसिएसन बागमती प्रदेश समितिका सदस्य सुरज गौतमले भन्नुभयो, ‘अहिले हवाई उडान समेत अत्यन्त न्यून भएका बेला ड्रोनको प्रयोग सुरक्षित हुनुका साथै मौसम सफा रहनु र न्यून गतिविधि भएका बेला राम्रो दृश्य तथा तस्वीर उतार्न सकिने भएकोले काम सुरु गरेका हौं ।’ ईन्टरनेटको सुविधा भएको कम्प्युटरमा गुगल अर्थ एप्लिकेशनमार्फत पनि भौगोलिक अवस्थाका बारेमा हेर्न मिल्ने भए पनि त्यो स्पष्ट नहुने र संकेतको रुपमा मात्रै संरचनाहरु हेर्न मिल्ने उल्लेख गर्नुहुँदै ड्रोनमार्फत लिइने दृश्य र चित्रले स्पष्ट र वास्तविक भौगोलिक अवस्था थाहा पाउन सकिने गौतमले दावी गर्नुभयो ।

ड्रोनमार्फत लिइने स्पष्ट दृश्य र चित्रको सहयोगमा उपमहानगरपालिकाले भौगोलिक अवस्थाको वास्तविकता बुझ्न, विपद् जोखिम मूल्यांकन गर्न, सहरी विकासको योजना निर्माण गर्न, घरको सूचि तयार पार्न सहयोग पुग्ने नेपाल ईन्जिनियर्स एसोसिएसनको दावी छ । पहिलो चरणमा केही वडाको सर्भे गरेर उक्त अभ्यासको समीक्षा गरेर नगरका १९ वटै वडाको सर्भे गरिने गौतमले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले भने ईन्जिनियरको समूहले गर्न लागेको कामले उपमहानगरपालिकालाई लाभ मिल्ने विश्वास व्यक्त गर्नुभयो ।