फाइल तस्बिरः हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी गरिरहेको छ । नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियामा राजनीतिक दलहरुसँग सुझाव संकलनका लागि उपमहानगरपालिकाले छलफल गरेको छ ।

उपमहानगरपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणका क्रममा विभिन्न संघसंस्था सरोकारवालासँग छलफल गर्दै आएको छ । यसैक्रममा सोमबार उपमहानगरले राजनैतिक दलहरुसँग नीति तथा कार्यक्रम र बजेट निर्माणमा समेट्नुपर्ने विषय, प्राथमिकताका कार्यक्रम र आवश्यकतालाई मध्यनजर गर्दै सुझाव संकलनको लागि छलफल गरेको हो ।

छलफलका क्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले नगर बनाउने कुरामा सबै मिलेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । बजेट निर्माणमा तीनै तहको सरकारबीच सहकार्य र अपनत्व रहनुपर्नेमा जोड दिँदै जेठ १० गतेभित्र नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेको लामाको भनाई छ ।

छलफलका क्रममा नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्षसमेत रहेका राष्ट्रिय भूमि आयोग जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहालले उपमहानगरको एउटा गौरबको योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । धेरै गौरवको योजना थाल्दा बजेट अभाव हुनसक्ने र काम अपूरो हुने भएकाले एक गौरवको योजना लिएर कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

कंक्रिट ढलानमात्र विकास नभई प्रत्येक वडामा गरिने बजेट वितरण रोकी आवश्यकताकोे आधारमा बजेट विनियोजन गर्नुपर्ने धारणा उहाँले राख्नुभयो । पहुँचको आधारमा बजेट वितरण गर्दा आवश्यक पर्ने ठाउँमा बजेट नपुग्ने हुनाले आवश्यक्ताको आधारमा समानुपातिक बजेट विनियोजन गर्न उहाँले सुझाव दिनुभयो । शिक्षाको मूल्यांकन गर्दै विद्यालय मर्ज गरेर व्यवस्थित बनाउन आवश्यक रहेको दाहालको भनाई छ ।

नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा बागमती प्रदेशसभा सांसद एकालाल श्रेष्ठले आर्थिक परिस्थिति संकटपूर्ण रहेको भन्दै उपमहानगरले ठूलो बजेटको योजनाभन्दा पनि जनताको लागि दैनिक आवश्यक पर्ने योजना अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उपमहानगरले प्रशासनिक खर्च कटौती गर्नुपर्ने कुरा श्रेष्ठले औंल्याउनुभयो । उपमहानगरको राजश्व स्रोतको दायरा बढाउने गरी आम्दानीको स्रोत खोजी गर्न उहाँले सुझाव दिनुभयो ।

छलफलका क्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले गौरवको योजना बनाउन लाग्नुपर्नेमा जोड दिँदै पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो । लामाले आन्तरिक राजस्व वृद्धि र आम्दानीको स्रोत पहिचानमा लाग्न सुझाव दिनुभयो ।