त्रिभूवन नमूना माविमा राहतका लागि मजदुरी गर्दै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ ले लकडाउनका बेला राहत माग्न आउनेलाई दैनिक काममा लगाएर मात्रै राहत वितरण सुरु गरेको छ । लकडाउनका बेला एक हजार भन्दा बढी परिवारलाई राहत वितरण गरेको वडाले काम नभएर हातमुख जोड्न गाह्रो भयो भन्नेलाई काम दिएर खाद्यान्न लगायतका राहत वितरण गर्न सुरु गरेको वडा सदस्य रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

वडाले शुक्रबारदेखि काम गर्नेलाई राहत दिने कार्य सुरु गरेको हो । शुक्रबार, शनिबार र आइतबार तीन दिनमा ४० जनाले काम गरेका छन् । वडा कार्यालयले राहत माग्न आउने स्थानीयलाई हेटौंडा–११, नवलपुरस्थित त्रिभूवन नमूना माविको पर्खाल लगाउने काममा खटाएको छ । भूकम्पले क्षति पुर्‍याएको विद्यालयमा भवन निर्माणको कार्य भइरहे पनि पर्खाल निर्माणका लागि भने विद्यालयसँग बजेट अभाव भइरहेका बेला वडाले राहत माग्न आउनेलाई काममा लगाएको वडा सदस्य न्यौपानेले बताउनुभयो ।

त्रिभूवन नमूना माविका व्यवस्थापन समिति सदस्यमा वडाबाट प्रतिनिधित्व समेत गर्नुहुने न्यौपानेले समृद्ध समाजसँग कुरा गर्दै भन्नुभयो, ‘काम भएन भन्दै राहत माग्न आउनेको संख्या नियन्त्रण नै नहुने स्थिति भएपछि काम दिएर राहत दिने व्यवस्था गर्न सुरु गर्यौं । तीन दिनमा करिब ४० जनाले काम गरेका छन् ।’ राहत सामग्री पाउनका लागि काममा सहभागी हुन महिलाहरु पनि उल्लेख्य संख्यामा आएका छन् । लकडाउन लम्बिँदै जाँदा काम नभएका कारण राहत चाहियो भन्नेका लागि वडाभित्र सार्वजनिक क्षेत्रको काममा लगाएर राहत वितरण गर्ने योजना वडा कार्यालयले बनाएको छ ।