हेटौंडाः दोस्रो बागमती प्रदेश खेलकुदका लागि मकवानपुर जिल्लाका खेलाडीको बन्दप्रशिक्षण सुरु भएको छ । मंगलबारबाट मकवानपुर जिल्ला खेलकुद विकास समितिले खेलाडीलाई बन्दप्रशिक्षणमा राखेको हो । बागमती प्रदेश खेलकुद प्रतियोगिता यही जेठ ७ गतेदेखि सुरु हुँदैछ ।
प्रदेश खेलकुद प्रतियोगितामा मकवानपुर जिल्लाबाट १२ वटा खेलका २ सय ४० भन्दा बढी खेलाडी सहभागी हुने मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीले जानकारी दिनुभएको छ । व्याड्मिन्टन हेटौंडा–११ स्थित बहुउपयोगी कभर्डहलमा, तेक्वान्दो, कराँते र आइटिएफ कराँते, उसु, रग्वी र भलिबल हुप्रचौरमा, एथ्लेटिक्स र फुटबल पिप्ले–क्याम्पा रंगशालामा, बक्सिङ हेटौंडा–४ स्थित कभर्डहलमा बन्दप्रशिक्षण भइरहेको छ ।
बन्दप्रशिक्षणका क्रममा खेलाडीहरुलाई खाजाको पनि व्यवस्था गरिएको छ । बन्दप्रशिक्षणको क्रममा खेलाडीलाई दुध, अण्डा र चनाको व्यवस्था गरिएको छ । बन्दप्रशिक्षणका लागि करिब ५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । प्रदेशस्तरीय प्रतियोगितामा राम्रो नतीजा हासिल गर्नका लागि बन्दप्रशिक्षणको व्यवस्था मिलाइएको अध्यक्ष खड्गीको भनाइ छ । बन्दप्रशिक्षणमा सम्बन्धित खेलका प्रशिक्षकहरुको सक्रिय सहभागिता रहेको छ ।
यसअघि मकवानपुर जिल्ला खेलकुद विकास समितिले प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तयारीस्वरुप बन्दप्रशिक्षणको व्यवस्था मिलाएको थियो । बन्दप्रशिक्षणको व्यवस्थाले खेलाडी र प्रशिक्षकमा हौसलसँगै प्रदेश र राष्ट्रियस्तरको प्रतियोगितामा राम्रो नतीजा हासिल गरेसँगै प्रदेशस्तरीय खेलकुदको पनि बन्दप्रशिक्षणको व्यवस्था मिलाइएको हो ।