पहिलो दिन हेटौंडाको बुद्धचोकमा कविता वाचन गर्नुहुँदै सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल । फाइल तस्वीर ।

हेटौँडाः भ्रष्टाचारविरुद्ध मकवानपुरका साहित्यकारहरु सडकमा उत्रिएका छन् । भ्रष्टाचारविरुद्ध नागरिक सचेतनाका लागि सर्जक सञ्जाल मकवानपुरको अग्रसरतामा आइतबार हेटौँडाको बुद्धचोकमा कविता, मुक्तक, गजल, कथा वाचन गरिएको छ । स्वतःस्फूर्त सहभागी साहित्यकारले देशमा व्याप्त भ्रष्टाचारविरुद्ध रचना वाचन गरेका छन् ।

सडकमा साहित्यकारले रचना वाचन गरेको दृश्य कैद गर्दै एक सर्वसाधारण ।

यसैबीच सर्जक सञ्जाल मकवानपुरले एक सातासम्म दिन–दिनै चोक–चोकमा रचना वाचनको कार्यक्रम गर्ने जनाएको छ । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले सोमबार हेटौँडाको शितलमहल चोकमा कविता वाचन गरिने जानकारी दिनुभयो । स्वतःस्फूर्तरुपमा साहित्यकारहरुलाई रचना वाचनका लागि आग्रह गर्नुहुँदै संयोजक निमेष निखिलले नागरिक सचेत भएर भ्रष्टाचारविरुद्ध बोल्नुपर्ने बताउनुभयो । पहिलो दिन आइतबार हेटौंडाको बुद्धचोकमा स्वतःस्फूर्तरुपमा सर्वसाधारणले पनि रचना वाचन गरेका थिए ।

सडकमा साहित्यकारको प्रस्तुती हेर्न झुम्मिएका सर्वसाधारण ।