मुलुकमा भ्रष्टाचार व्यापक बनिरहेको छ । सामान्यदेखि गम्भीर प्रकारका संगठित अपराधहरुका घटनाहरु धमाधम सार्वजनिक भइरहेका छन् । राज्यका उच्च निकायदेखि जनताको सामान्य काम गर्ने तहसम्म भ्रष्टाचारको जालो फैलँदो छ । सरकारी नुनपानीमा जनताको काम गर्ने कर्मचारीदेखि जनसेवाको नाम दिएर राजनीति गर्नेहरु भ्रष्टाचारबाट अछुतो छैनन् । व्यक्तिगत, दलगत वा सामूहिक स्वार्थपूर्तिका भ्रष्टाचार हुने गरेको पाइन्छ । सार्वजनिक जीवनमा स्वीकृत मूल्य मान्यताविरुद्धका आचरण नै भ्रष्ट आचरण अर्थात् भ्रष्टाचार हो । सामान्य बुझाइमा यसलाई आर्थिक अनियमितता मान्ने गरिएको भए पनि नैतिक, सामाजिक र नीतिगत भ्रष्टाचार उत्तिकै भइरहेको छ । प्रत्येक सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री तथा मन्त्रीहरुले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कुरा गर्ने गरेका भए पनि तिनीहरु नै भ्रष्टाचारका पक्षपोषक देखिएका छन् । राजनीतिक नेतृत्व सहभागी भएका ठूलाठूला संगठित भ्रष्टाचारका काण्डहरु सार्वजनिक भइरहनुले मुलुकमा भ्रष्टाचार निकै चिन्ताजनक बनेको बुझ्न सकिन्छ ।
मुलुकमा प्रजातन्त्र पुनःस्थापनापछि राज्य सञ्चालनको तहमा पुगेका राजनीतिक नेतृत्वहरु अधिकांश भ्रष्टाचारमा संलग्न भएका छन् । ठूला–ठूला भ्रष्टाचारका काण्डमा आरोपितमात्र होइन भ्रष्टाचार प्रमाणित भएर अदालतबाट सजाय पाएका नेताहरु थुप्रै छन् । नेपाल वायुसेवा निगमसँग सम्बन्धित लाउडा, धमिजा, वाइडबडीजस्ता विभिन्न भ्रष्टाचारका काण्डहरु निकै चर्चित बनेका थिए । आयल निगमको पेट्रोलियम भण्डारणका लागि जग्गा खरिद प्रकरण पनि निकै चर्चामा आएको थियो । कोभिड महामारीको समयमा ओम्नी तथा यति काण्ड, नेपाल ट्रष्टको मातहतमा रहेका जग्गाको काण्ड, ३३ किलो सुनकाण्ड, ७० करोड काण्डजस्ता धेरै संगठित भ्रष्टाचारका काण्ड सार्वजनिक भएका छन् । पछिल्लो समय नक्कली भुटानी शरणार्थी काण्डले संगठित भ्रष्टाचारीको ठूलै सञ्जाल रहेको स्पष्ट पारेको छ । अहिले सार्वजनिक भएका घटनाक्रमलाई हेर्दा यो भ्रष्टाचार काण्डमा सबै ठूला राजनीतिक दल र तिनका धेरै नेतासँग उनीहरुका आफन्तको संलग्नता रहेको छ । राजनीतिक नेतृत्वको यस भ्रष्टाचारलाई केही उच्चपदस्थ कर्मचारीहरुले सहयोग गरेको सार्वजनिक घटनाक्रमले देखाएको छ ।
राजनीतिक दलका नेताहरु चुनावमा टिकट पाउन, चुनाव जित्न र मन्त्री तथा अन्य लाभका पद हासिल गर्न मरिहत्ते गर्ने कारण अब धेरै नेपालीले थाहा पाइसकेका छन् । देश र जनताको सेवा गर्न नभई नेताहरु भ्रष्टाचार गरेर अकूत सम्पत्ति आर्जन गर्नकै लागि राजनीतिमा लागेको बुझ्न कठिन छैन । कर्मचारीहरु पनि भ्रष्टाचारमा उत्तिकै संलग्न देखिएका छन् । राजनीतिक नेतृत्वलाई भ्रष्टाचारका लागि सहयोग गर्ने काम कर्मचारीहरुबाटै हुने गरेको पाइएको छ । राजनीतिक शक्ति र पहुँचको फाइदा लिँदै केही नेता एवम् पूर्वमन्त्रीहरु गम्भीर प्रकृतिका संगठित भ्रष्टाचारको आरोप खेपिरहेका छन् । पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ पर्ने डरले लुकेर बसेका छन् भने पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने र उनीहरुसँग रकम असुल्ने ठूलै गिरोहलाई प्रहरीले पक्राउ गरिरहेको छ, जसमा पूर्वमन्त्री तथा उनका सन्तामात्र होइन, पूर्वप्रधानमन्त्री पत्नीसमेतको संलग्नता रहेका अडियो सार्वजनिक हुनुले भ्रष्टाचार निकै माथिल्लो तहसम्म रहेको अनुमान गर्न गाह्रो छैन ।
विभिन्न समयमा भ्रष्टाचारका नयाँ–नयाँ काण्ड सार्वजनिक भइरहे पनि पछिल्लो समय चर्चामा रहेको नक्कली शरणार्थी काण्डले धेरैलाई भ्रष्टाचार सावित गर्ने सम्भावना देखिएको छ । यो काण्डले देशभित्रमात्र नभई विदेशसम्म तरंगित बनाएको छ । वर्तमान सरकारी नेतृत्वले प्रभावकारी अनुसन्धान गरी कारबाही गर्न खुट्टा कमाएन भने भ्रष्टाचारको ठूलै लहरो तानिने र धेरैजना भ्रष्टाचारी सावित हुने निश्चितप्रायः छ । भ्रष्टाचारमा संलग्न संगठित गिरोहले पाउने गरेको राजनीतिक संरक्षणले भ्रष्टाचार बढ्दै गएको छ । देशलाई भ्रष्टाचारको दलदलबाट बचाउन सरकार र राजनीतिक नेतृत्व इमान्दार बन्नु आवश्यक छ ।











