हेटौंडाः छैठौँ सिराह गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विजेता मकवानपुर–११ का खेलाडीलाई सम्मान गरिएको छ । बुधबार बागमती प्रदेश सरकारको सामाजिक विकास मान्त्रालयले प्रशिक्षक, टिम म्यानेजर र विजेता खेलाडीहरुलाई जनही नगद ११ हजार ११ रुपैयाँ नगदसहित सम्मन गरेको हो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले मकवानपुर–११ विजेता बन्नु खुसीको कुरा भएको बताउनुहुँदै यसलाई निरन्तरता दिनु पर्ने बताउनुभयो । खेलसँगै भविष्य र स्वाभिमान हुनुपर्ने र राष्ट्रलाई छिटो चिनाउने क्षेत्र खेल क्षेत्र भएको उहाँले जोड दिनुभयो । खेल क्षेत्रमा आफ्नो र अर्काको भन्ने हुन नहुने बताउनुहुँदै आफ्नो अर्काको भन्दा पनि राम्रो खेलाडीलाई मौका दिन आवश्यक रहेको बताउनुभयो । संघीयता पश्चात खेल क्षेत्रमा राम्रो सुरुवात भएको र बागमती प्रदेशले सबै भन्दा धेरै खेल क्षेत्रमा लगानी गरेको मन्त्री मोक्तानले बताउनुभयो ।
यस्तै, सम्मान कार्यक्रममा बोल्नुहुँदै प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिनाले मकवानपुरका खेलाडी मात्रै सहभागी भई विजेता हुन सफल भएको बताउनुभयो । यो टिम उत्कृष्ट भएको र मिहिनेत गरेर अगाडि बढ्न खेलाडी र प्रशिक्षकलाई उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले देशभरमा फुटबल खेलमा उत्कृष्ट जिल्लामा मकवानपुर रहेको बताउनुभयो । पछिल्लो समय नेपालको ‘बि’ डिभिजन खेल्नका लागि मकवानपुरका खेलाडीलाई क्लबले मागेकोले खेलाडीको भविष्य राम्रो हुने उहाँले दावी गर्नुभएको छ । कार्यक्रममा मकवानपुरका लागि एन्फा प्रशिक्षक विजय लाल श्रेष्ठ, टिम म्यानेजर सुजन खड्की र मकवानपुर–११ का खेलाडीहरुको सहभागिता रहेको थियो ।