हेटौंडाः हेटौंडा उपमहानागपालिका १ नम्बर वडाले वडाका महिलाहरुलाई पञ्चेबाजा तालिम सुरु गरेको छ । शुक्रबार वडा कार्यालयको आर्थिक सहयोगमा परम्परागत पञ्चेबाजा प्रवद्र्धन र महिलाको आर्थिक विकासका लागि प्रशिक्षण सुरु भएको हो ।
वडा कार्यालयले तालिमका लागि एक लाख ७० हजार रकम विनियोजन गरेको छ । तालिममा २५ जना महिलाहरुको सहभागिता रहेको छ । २ महिने तालिमबाट परम्परागत संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने वडा अध्यक्ष सविन न्यौपानेले बताउनुभयो । बाजा कुनै जात–धर्मले बजाउने नभई यसलाई आय–आर्जनको रुपमा लिएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
बाजा बजाउने काम सधैं गर्नु नपर्ने, सिजनामा मात्र काम गर्नुपर्ने र राम्रो आम्दानी हुने पेसा भएकाले वडा कार्यालय सक्रिय भएर लागिपरेको उहाँले जानकारी दिनुभयो । तालिमका सहभागीहरुलाई सिकेको सीपको भरपुर उपयोग गर्न न्यौपानेले आग्रह गर्नुभयो । आगामी आर्थिक वर्षमा वडा कार्यालयले बाजा खरिद गर्ने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले महिलाहरुले तालिमबाट बाजा बजाउने सीप हासिल गरी आगामी दिनमा महिलाहरु पुरुषसँग प्रतिस्पर्धा गर्नसक्ने हुनुपर्ने बताउनुभयो । प्रशिक्षणबाट महिलाहरुले काम सुरु गरेमा पञ्चेबाजा बजाउन हेटौंडाका महिलाहरुलाई इतिहासका रुपमा लिने उहाँको भनाई छ ।
पहिले पालिकाले यस्ता कार्यक्रम ल्याए पनि महिलाले खासै चासो नदिएको बताउँदै मेयर लामाले अहिले महिलाको चासोमा वडा कार्यालयले राम्रो काम गरेको बताउनुभयो । मेयर लामाले पालिकाबाट प्रशिक्षणमा सहभागीहरुलाई एकै किसिमको पोशाकको व्यवस्था गर्ने आश्वासन दिनुभयो । प्रशिक्षणबाट सिकेका महिलाहरुलाई पालिकाले गर्ने हरेक कार्यक्रम र प्रदेशले गर्ने कार्यक्रममा जोड्ने बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप बिष्टले महिलाहरुलाई अगाडि ल्याउने र पञ्चेबाजाको संरक्षण हुने भएको बताउँदै महिला र पुरुषको प्रतिस्पर्धा गराउने पेसा बनाउन जोड दिनुभयो । विकास भनेको बाटो ढलान गर्नुमात्र नभई यस्ताखालका कार्यक्रम ल्याउनु पनि विकास भएकोमा जोड दिनुभयो ।
कार्यक्रममा २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जनले आयमूलक कार्यक्रमहरु पालिका र वडाहरुले ल्याउने गरेको बताउनुभयो । अन्य जिल्लामा महिलाहरुले बाजा बजाउने पेसा गर्दै आएकाले अब मकवानपुरमा पनि महिलाको सक्रियता हुने भन्दै २ नम्बर वडाले आर्थिक र सामाजिक रुपान्तरणको काम गर्दै आएकोमा जोड दिनुभयो ।
१ नम्बर वडा अध्यक्ष न्यौपानेको सभाध्यक्षता तथा हेटौंडा उमहानगरपालिकामा मेयर लामाको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो । २ नम्बर वडा अध्यक्ष महर्जन, १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला, सामाजिक विकास माहाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, बरिष्ठ पत्रकार बिष्टलगायतको उपस्थिति थियो ।