हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा ५ सयभन्दा बढीले कोभिडविरुद्धको खोप लगाएका छन् । मंगलबारबाट सुरु भएको कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा बिहीबारसम्म ५ सय १ जनाले खोप लगाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मन्नु अधिकारीले बताउनुभयो ।
स्वास्थ्य कार्यालयको आयोजनामा भएको खोप कार्यक्रममा २ सय ५५ महिला र २ सय ४६ पुरुषले खोप लगाएका हुन् । ६ वटा स्वास्थ्य संस्थाको १५ वटा खोप केन्द्रबाट ५ सय १ जनाले खोप लगाएका हुन् । नेपाल सरकारको अनुमतिमा खोप कार्यक्रम भएको अधिकारीले जानकारी दिनुभयो ।
५५ वर्षमाथिका पहिलो बुस्टर लिन बाँकी व्यक्तिहरुलाई पहिलो बुस्टर लगाइने भएको छ । सबै स्वास्थ्यकर्मीहरु, १२ वर्षमाथिका दीर्घरोग भएका व्यक्तिहरु, गर्भवतीहरु र रोग प्रतिरोध क्षमता कम भएका व्यक्तिहरुलाइ पनि बुस्टर र उल्लेखित लक्षित समूहलाई यदि पहिलो बुस्टर लिएर ६ महिना पूरा भएको भए दोस्रो बुस्टर डोज लगाउन सकिनेछ ।
खोप लगाउन इन्द्रसरोवर गाउँपालिकाको ६ वटा स्वास्थ्य संस्था गई बुस्टर डोज लगाउन सकिनेछ । मार्खु स्वास्थ्य चौकीको सानुमार्खु, नयाँ गाउँ र स्वास्थ्य चौकीमा खोप केन्द्र रहेको छ । यस्तै, कुलेखानी स्वास्थ्य चौकीको सुलिकोट, सुकौरा र स्वास्थ्य चौकीमा खोप केन्द्र रहेको छ । सिस्नेरी स्वास्थ्य चौकीको रामचन्द्र भन्ज्याङ, काप्राङ, टेकर र स्वास्थ्य चौकीमा खोप केन्द्र रहेको छ । फाखेल स्वास्थ्य चौकीको कालिका मावि, फाखेलचौर र स्वास्थ्य चौकीमा खोप केन्द्र रहेको छ । चन्द्रगढी सामुदायिक स्वास्थ्य केन्द्र स्वास्थ्य चौकी र पाटिचौरमा रहेको र भालुखर्क सामुदायिक स्वास्थ्य इकाईको स्वास्थ्य संस्थामा खोप लगाउन सकिने अधिकारीले बताउनुभयो ।