फाईल तस्वीर ।

हेटौंडाः जिल्ला अदालत मकवानपुरमा चालु आर्थिक वर्ष २०७९–०८० को चैत मसान्तसम्म एक हजार २ सय ९७ मुद्धा फैसला भएको छ । गत वर्षबाट दायित्व सरेर आएको एक हजार २ सय २० मुद्धा र नयाँ एक हजार ५ सय ८ मुद्धा दर्ता भई कुल २ हजार ७ सय २८ मुद्धा रहेकोमा ४७ प्रतिशत मुद्धा फैसला भएको जिल्ला अदालत हेटौंडाका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

मकवानपुरमा देवानी मुद्धा (सम्पती नातासँग सम्बन्धित) सम्बन्धविच्छेद उच्च, चेक अनादर र अंशको मुद्धा मध्यम रहेको छ । फौजदारी मुद्धामा लागूऔषधको मुद्धा उच्च रहेको छ । फौजदारीमै जबरजस्ती करणी मुद्धा पनि बढ्दो संख्यामा रहेको र सवारी ज्यान मुद्धासमेत उल्लेख्य रहेको बताइएको छ ।

अदालतले सरल मार्ग, सामान्य मार्ग, विषेश मार्ग र अन्य गरी ४ भागमा मुद्धाको प्रकृतिअनुसार विभाजन गरेको छ । सरल मार्गअन्तर्गत् ६ महिनामा फैसला भएको मुद्धा, सामान्य मार्गमा १ वर्षसम्ममा फैसला भएका मुद्धा, विषेश मार्गमा १८ महिनामा फैसला भएको मुद्धा पर्ने गर्छ भने अन्यमा फैसला हुन १८ महिनाभन्दा बढि समय लाग्ने मुद्धा पर्दछन् ।

मकवानपुरमा फैसला भएको मुद्धा एक हजार २ सय ९७ मध्ये सरल मार्गका ३ सय ३४ मुद्धा फैसला भएको छ । समान्य मार्गका ५ सय ६५ मुद्धा, विषेश मार्गका २ सय २४ मुद्धा र अन्य १ सय ७४ संख्या मुद्धा फैसला भएको छ । सरल मार्गका ६ सय ६२ मुद्धा, समान्य मार्गका ४ सय ८२ मुद्धा, विषेश मार्गका १ सय ९० मुद्धा र अन्य ९५ संख्या मुद्धा फैसला हुन बा“की रहेको छ ।

सोमबार एकै दिन चार जना न्यायाधीशबाट १५ वटा मुद्धा फैसला भएको छ । ५६ वटा मुद्धा पेसी भएकोमा २७ वटामा आदेश र १२ वटा मुद्धा स्थगित भएको छ । न्यायाधीश ऋषिराम निरौलाको इजलाशमा एउटा, न्यायाधीश राजेन्द्र अधिकारीको इजलाशमा ६ वटा, न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलाशमा ५ वटा र न्यायाधीश मनकुमारी जीएम विकको इजलाशमा ३ वटा मुद्धा फैसला भएको हो । लागूऔषधको मुद्धा २ वटा, रोक्का निवेदन एउटा, सार्वजनिक बाटोको अवरोध हटाउने मुद्धा २ वटा, अदालतको अवहेलना मुद्धा एउटा, चेक अनादर मुद्धा २ वटा, जग्गा रोक्कासम्बन्धी मुद्धा ३ वटा, सम्बन्धविच्छेदको मुद्धा ३ वटा र अंश, खाना खर्च भरणपोषणसम्बन्धी एउटा मुद्धा फैसला भएको छ ।