तीनपाङ्ग्रे सवारी व्यवस्थापन माग गर्दै पत्रकार सम्मेलनगरि आन्दोलन घोषणा गर्दै व्यवसायीहरु ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकालाई पटकपटक आफ्नो समस्याबारे बुझाउँदासमेत बेवास्ता गरेको भन्दै राष्ट्रिय प्रजातान्त्रिक यातायात मजदुर संघ मकवानपुरले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । मंगलबार पत्रकार समेलन गर्दै तीनपाङ्ग्रे मजदुरका लागि आवाज उठाइरहेको संघले मजदुरको विभिन्न समस्या सामाधानको माग गर्दै बैशाख ६ गतेदेखि बैशाख ११ गतेसम्म चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

आन्दोलनका क्रममा बैशाख ६ गते हेटौंडा बजारको मुख्य चोकमा, सवारी साधनमा कालो झण्डा राख्ने र बागमती प्रदेश सरकारलाई ध्यानकर्षणपत्र बुझाउने कार्यक्रम तय भएको छ । दोस्रो दिन बैशाख ७ गते विषयगत समस्याका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने र तेस्रो दिन बैशाख ८ गते प्लेकार्डसहित हेटौंडा नगर क्षेत्रमा बिरोध प्रदर्शन गर्ने जनाइएको छ । त्यस्तै, माग पूरा नभए बैशाख १० गते उपमहानगरपालिकामा शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने र बैशाख ११ गते मकवानपुर जिल्ला बन्द गर्ने घोषणा गरेको छ । पत्रकार सम्मेलनमा मजदुर संघका अध्यक्ष काजीमान तितुङले उक्त कार्यक्रमहरु सार्वजनिक गर्नुभएको हो ।

अटो व्यवसायी रत्नप्रसाद चापागाईले ट्राफिकले निषेधित क्षेत्रमा जथाभावी सवारी चलाएको भन्दै एकै दिन दुईवटा समेत जरिवाना काट्ने गरेको तर नगरपालिकाले निषेधित क्षेत्र नतोकेको बताउनुहँुदै ट्राफिक र नगरपालिका मिलेर पैसा कमाउने धन्दा चलाएको आरोप लगाउनुभयो । संघका अध्यक्ष तितुङले पटक–पटक उपमहानगरपालिका धाउँदासमेत गुनासो नसुनेको बताउनुभयो । माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताउनुहुँदै उहाँले ट्राफिक जरिवाना, स्टीकरलगायत विभिन्न समस्याले आम मजदुर बाँच्न नसक्ने अवस्था आएको बताउनुभयो ।