फाइल तस्बिरः हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले नगरभित्रका संस्थागत विद्यालयहरुको वर्गीकरण गर्ने निर्णय गरेको छ । गत चैत ३० गते बसेको कार्यपालिका बैठकले नगरका संस्थागत विद्यालयमा शुल्क निर्धारण गर्न कार्यविधिसमेत स्वीकृत गरेको छ ।

नगरका विद्यालयहरुले आफुखुशी मानोमानी शुल्क लिने गरेकाले नगरबासीलाई सहज हुने तरिकाले विद्यालयको वर्गीकरण गर्ने निर्णय भएको छ । कार्यपालिका बैठकले विद्यालय वर्गीकरण समिति र शुल्क निर्धारण समिति गठन गरेको छ । यस्तै, बैठकले एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति दिनेसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ । नगरभित्र बसोबास गर्नेले एमबीबीएस अध्ययन गरेमा चालु आर्थिक वर्षमा ५ लाख रुपैयाँको दरले छात्रवृत्ति दिने निर्णय गरेको हो । नगरपालिकाले छात्रवृत्तिका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त रकमबाट ४ जनासम्मले छात्रवृत्ति पाउनेछन् । बैठकले स्वास्थ बीमा संयोजन समिति गठन तथा सञ्चालनसम्बन्धी कार्यविधिसमेत स्वीकृत गरेको छ ।

‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्रसम्बन्धी कार्यविधि २०७५ (तेस्रो संशोधन २०७९) संशोधन गरेको छ । अघिल्लो संशोधनमा व्यवसायीको इजाजतपत्रमा नामसारी तथा ठाउँसारीको व्यवस्था भएकाले अहिले परिवर्तन गरी संशोधन गरेको हो । कृषि तथा पशुपालनमा अनुदान वितरण कार्यविधिसमेत संशोधन गरेको छ । हालसम्म उपमहानगरपालिकाले अनुदान वितरण गर्दै आएकोमा वडा तहबाट नै अनुदान दिने व्यवस्था गरी अन्तिम भुक्तानीका लागि नगरपालिकामा पठाउने गरी कार्यविधि संशोधन गरिएको छ ।

यस्तै, बाल समूह गठन तथा सहजीकरण निर्देशिका २०७६ (पहिलो संशोधन २०७९)लाई संशोधन गरेको छ । बाल समूह गठन गर्दा आवश्यकताअनुसार ११ देखि २५ सदस्यीय कार्यसमिति हुनुपर्नेमा अहिले बाल समूह गठन गर्दा कार्यसमितिमा २५ जना सदस्य हुनैपर्ने व्यवस्था गरिएको छ । उच्च शिक्षा छात्रवृत्ति वितरणसम्बन्धी मापदण्ड २०७९ (पहिलो संशोधन २०७९) स्वीकृत गरेको छ । छात्रवृत्ति लिई नपढेको थाहा पाएमा सरकारी बाँकीसरह असुलउपर गर्ने व्यवस्था गरेकोमा परिमार्जन गरी असुल नगर्ने व्यवस्था गरिएको छ ।