हेटौंडाः काठमाडौंमा मंगलबार सम्पन्न १३ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय प्रतियोगितामा मकवानपुर जिल्लाले ६ स्वर्ण पदक जितेको छ । कुल ५० स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा मकवानपुरले एथ्लेटिक्सतर्फ ६ स्वर्ण जितेको हो । यसअघि मकवानपुर जिल्लाले नवौं राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत प्रदेशस्तरीय प्रतियोगितामा ५ वटा स्वर्ण पदक जितेको थियो ।
राष्ट्रपति रनिङ सिल्डअन्तर्गत राष्ट्रिय प्रतियोगितामा भने मकवानपुर जिल्लाले ३ वटा स्वर्ण पदक जितेको छ । मकवानपुरका लागि बकैया गाउँपालिकाका आयुष नेगीले ४०० मिटर दौडमा, सुमन योन्जनले ज्याभलिङ थ्रोमा, १०० मिटर दौडमा दिना गोपालीले स्वर्ण पदक जितेका छन् । यस्तै २०० मिटर दौडमा थाहा नगरपालिकाकी दिना गोपालीले, १०० गुणा ४ रिलेमा बकैया गाउँपालिकाका आयुष नेगी, सुमन योन्जन, सूजन राई र पाण्डव राईको समूहले स्वर्ण पदक जित्दा, ४०० गुणा ४ रिले दौडमा बकैया गाउँपालिकाका आयुष नेगी, सुमन योन्जन, सूजन राई र जिकेश सापकोटाको समूहले स्वर्ण पदक जितेका छन् ।
यस वर्ष मकवानपुर जिल्ला खेलकुद विकास समितिले बन्दप्रशिक्षणको समेत व्यवस्था गरेको थियो । प्रतियोगितामा एथ्लेटिक्सतर्फ राम्रो नतीजा हासिल गरे पनि मार्सल आर्टमा राम्रो नतीजा हासिल गर्न नसक्दा समग्रमा सन्तोषजनक नतीजा हासिल भएको मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्वप्रमुख राजन दाहाल खुशराजले जानकारी दिनुभएको छ । मार्सल आर्टमा राम्रो नतीजा हासिल गर्न सकेको भए यस पटक मकवानपुर जिल्लाको नतीजा उत्साहजनक रहने उहाँको भनाइ छ । प्रदेशस्तरीय प्रतियोगितामा व्यक्तिगत स्पर्धामा स्वर्ण र कास्य पदक विजेता खेलाडीले सिधै राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउनेछन् भने सामूहिक खेलमा प्रदर्शनको आधारमा प्रदेश टिममा स्थान बनाउनेछन् ।