हेटौंडाः हेटौंडा उपमहानगरपालिका ७ नम्बर वडा कार्यालयले वडाका भेट्रान्स खेलाडीहरुलाई सम्मान गरेको छ । गत महिना हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रको खेलमैदानमा भएको प्रथम मोहन श्रेष्ठ स्मृति ८ ‘ए’ साइड भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि विजेता ७ नम्बर वडाको टिमलाई सम्मान गरिएको हो । वडा कार्यालयले सोमबार भेट्रान्स खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकलाई सम्मान गरेको हो ।
भेट्रान्स फुटबल टिमका प्रशिक्षक सोम बहादुर तितुङ, टिम व्यवस्थापक दिनेश थापा मगर र १३ जना खेलाडी रहेका छन् । खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकलाई ७ नम्बर वडाका वडा अध्यक्ष दामोदर गौतम, वडा सदस्यहरु सन्तुमाया पाख्रिन, राधिका बिक, र श्यामसुन्दर परियारले सम्मानपत्र वितरण गर्नुभयो ।
सम्मान कार्यक्रममा ७ नम्बर वडाका वडा सचिव प्रशान्त श्रेष्ठ, मकवानपुर फुटबल संघका सदस्य कृष्ण केसी, नागश्वती भेट्रान्स क्लबका कोषाध्यक्ष नमराज तितुङ लगायत खेलाडीहरुको उपस्थिति रहेको थियो । गत महिना पशुपति भेट्रान्स क्लबको आयोजनामा भएको प्रथम मोहन श्रेष्ठ स्मृति ८ ‘ए’ साइड भेट्रान्स कप फुटबल प्रतियोगितामा वडा नं ४ लाई टाइब्रेकरमा १–० गोलअन्तरले हराउँदै ७ नम्बर वडाले उपाधि जितेको थियो । जितसँगै ७ नम्बर वडाले १ लाख ५ हजार ५ सय रुपैयाँ प्राप्त गरेको थियो ।











