हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा साताव्यापी भर्ना अभियान सुरु भएको छ । वैशाख २ गते आइतबारदेखि सुरु भएको भर्ना अभियान वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ ।

वडास्तरीय युवा तथा खेलकुद विकास समिति, बकैया–८ ले भर्ना अभियानअन्तर्गत् साताव्यापी घरदैलो कार्यक्रम सुरु गरेको छ । बकैया–८ का कुनैपनि बालबालिका विद्यालयबाट वञ्चित नहोस् भन्ने उद्देश्यले उक्त अभियान सुरु गरिएको हो । बकैया–८ का वडासचिव युवराज ठाडा मगरले गाउँपालिकालाई बालमैत्री सुनिश्चित गाउँपालिका बनाउन उक्त अभियानले सहयोग पुग्ने बताउनुभयो ।

बीचैमा पढाइ छोडेर बस्ने, कुलतमा लाग्ने, बालविवाह गर्ने र बालश्रममा संग्लन हुने बालबालिकाको पनि खोजी अभियान सुरु गरिएको उहाँले जानकारी दिनुभयो । प्रायः १२–१३ वर्षका बालबालिका उक्त अवस्थामा हुने उहाँको भनाइ छ । ती बालबालिकालाई मध्यनजर गर्दै विद्यालयमा पुनः बालबालिका ल्याउन भर्ना अभियानसँगै खोजी अभियान पनि सुरु गरिएको सचिव मगरले बताउनुभयो ।

गुनासो संकलन समितिले घरपरिवारको संख्या, न्यून वर्गीय परिवारको आधारमा बालबालिकाको पहिचान गरिने उहाँले जानकारी दिनुभयो । आवश्यकता अनुसार वडाले पुनः विद्यालय ल्याउन बालबालिकालाई सहयोगसमेत गर्ने उहाँको भनाई छ । सोही अवसरमा व्यक्तिगत घटना दर्ता र युवा सचेतना कार्यक्रम पनि सुरु गरिएको छ ।

यसैगरी, हेटौंडा१–७, हटियामा रहेको लक्ष्मी आधारभूत विद्यालयले भर्ना अभियान सुरु गरेको छ । नयाँ शैक्षिक सत्र२–०८० सुरु भएसँगै विद्यालयले आइतबारदेखि भर्ना अभियान सुरु गरेको हो । नर्सरीदेखि कक्षा८ –सम्म निःशुल्क भर्ना भन्दै भर्ना अभियानमा शिक्षकहरु लागेका छन् ।